२०८३ असार ११ गते , विहीबार

अर्जुनधारा वडा कार्यालय भवनको निर्माण गुणस्तरहीन

sajilo news
झापा
२०७९ असार २९ गते , बुधबार
अर्जुनधारा वडा कार्यालय भवनको निर्माण गुणस्तरहीन

(अमित खम्बु) अर्जुनधारा । सम्बन्धित निकायको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण झापाको अर्जुनधारा–४ मा नवनिर्मित वडा समिति कार्यालयको भवनमा गुणस्तरहीन काम भएको पाइएको छ ।

स्थानीयहरुले उक्त विषयमा गुनासो गरेपछि त्यस स्थलमा पुगेको पूर्वाञ्चलकर्मीसहितको टोलीले अनुगमन गर्ने क्रममा भवनको दक्षिण र पूर्वतर्फको सिँढीको जग निर्माण नगरेको पाइएको हो । टोलीमा सहभागी निवर्तमान नगर सभा सदस्य एवम् निर्माण व्यवसायी ऐतराज नेम्वाङ ‘सन्तोष’ले आँगनको लेबल हेरेर फाउन्डेसनको काम गर्नुपर्नेमा बिना फाउन्डेसन पुरुवामाथि सिँढी बनाइएको भन्दै यो मापदण्ड विपरीतको कार्य भएको प्रतिक्रिया दिए ।

बरन्डाको दक्षिण, पूर्व र पश्चिमतर्फ गरी जम्मा अनुमानित ३४ फिट र भवनको पूर्वतर्फ शौचालयको अगाडिको भागमा जग बिनाको सिँढी बनाइएको छ ।

हाल सोही भवनबाट सेवा सुरु गरेको वडा समितिले गत बिहीबार जमिन सम्म्याउने क्रममा भवनमा भएको उक्त त्रुटि बारे थाह पाएपछि तत्काल नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर नीरज अधिकारीलाई जानकारी गराएको वडाध्यक्ष अम्बरबहादुर कटुवालले बताए ।चालू आर्थिक वर्ष ०७८/०७९मा निर्माण सम्पन्न भई फरफारख समेत भएको उक्त भवन निर्माणको जिम्मा ठेक्का प्रक्रियामार्फत भद्रपुरस्थित गणेश निर्माण सेवाले पाएको थियो । उक्त विषयमा प्राविधिक शाखा प्रमुख अधिकारीले आफू बिदामा भएको र पछि सम्पर्क गर्ने सन्देश एसएमएसमार्फत पठाएका थिए ।

त्यसैगरी भवन निर्माणको क्रममा निरीक्षण गरेका नगरपालिकाका सबइञ्जिनियर सन्तोष पोखरेलले जग निर्माण नभएको क्षेत्र माटोले पुरेका कारण आफूले यस विषयमा थाह नपाएको गैर जिम्मेवार जवाफ दिएका छन् । नगरपालिकामा रहेको धरौटी रकमबाट ठेकेदारलाई उक्त त्रुटि सच्याउन लगाउने छौँ– उनले थप आफ्नो भनाइ राखे ।

त्यसैगरी भवन निर्माणको ठेक्का पाएका ठेकेदार कुसुम गिरीलाई सम्पर्क गरिए पनि फोन उठेन । यता यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलाई जानकारी गराउँदा आफू इलाममा रहेको र बुधवार प्राविधिकलाई भवन निरीक्षणको लागि पठाउने प्रतिक्रिया दिइन् ।

सम्बन्धित समाचार