बिर्तामोडका सरसफाइ कर्मचारी आन्दोलित, २० जनाको रोजीरोटी गुम्यो
बिर्तामोडको फोहोर मैलाको व्यवस्थापन गर्ने जिम्मा पाएको निराकार सरसफाइ सेवा प्रालिले कामबाट निकालेपछि २० जना सरसफाइ कर्मचारीको रोजीरोटी गुमेको छ । विगत लामो समयदेखि बिर्तामोड नगरपालिकाको फोहोर मैला उठाउने काम गरिरहेका अजय मल्लिक डुम,शत्रुधन डुम, दिलीप डुम , इन्द्र डुम, सुरेन्द्र डुम , प्रकाश डुम , विमल डुमलगायतको रोजीरोटी गुमेको हो । आफूहरूलाई पालैपालो खाइपाइ आएको कामबाट निकालिएको दिलीप डुमले बताए । अहिले फोहोर उठाउने काममा मल्लिक जातिको कसैलाई पनि नराखेको उनले गुनासो गरे । आफूहरूको ठाउँमा दुर्गापुर , खुदुनाबारी लगायतका ठाउँबाट झिकाएर कर्मचारी राखेको उनले बताए ।
अनारमनि गाविस हुँदादेखि नै फोहोर मैलाको काम गर्दै आएका वीरेन्द्र मल्लिक पनि कामबाट निकालिएका छन् । छँदाखाँदाको कामबाट निकालिएपछि मल्लिक जातिका सरसफाइ कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले शुक्रबार बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईँलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले जतिसक्दो खोसिएको रोजीरोटी पुनः फिर्ता गरियोस् भन्दै काम गर्ने अवसर प्रदान गरिदिन आग्रह गरेका छन् ।
उनीहरूले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ‘प्रस्तुत विषयमा हामी निवेदक विगत लामो समयदेखि बिर्तामोड नगरपालिकाको फोहोर मैला उठाउने काम गरिरहेका थियौँ । हामीले काम गरिरहँदा काम गरेबापत पाएको पारिश्रमिकले हाम्रो परिवारलाई पाल्न केही मात्रामा राहत भई नै रहेको थियो तर, बिर्तामोड नगरपालिकाबाट फोहोर मैला व्यवस्थापन गर्न निराकार सरसफाइ सेवा प्रा। लि। लाई दिएपश्चात् यस कम्पनीले हामीलाई विभिन्न बहाना बनाई तथा आरोप लगाई निष्कासन गरेकोले हामी मर्माहित भएका छौ । नगरपालिकाबाट नियुक्ति भएका कर्मचारीलाई एउटा कम्पनीले निष्कासन गर्नु कतिसम्मको दादागिरी हो र हामीलाई निष्कासन किन गरियो, हामीले कम्पनीलाई पटक पटक आग्रह गर्दा वास्ता नगरी हामी बिर्तामोडवासीलाई कामबाट हटाई अन्य ठाउँबाट कर्मचारी ल्याउँदा हामी आक्रोशित भएका छौँ ।
हाम्रो परिवारलाई पाल्ने माध्यममा किन यस कम्पनीले बन्द गरायो । यस कम्पनीले गरेको काममा धेरै मात्रामा लापरबाही, दादागिरी कहिलेसम्म हामी सहनु, हामीले काम गरिरहँदा फोहोर मैला उठाउने सिलसिलामा अत्यन्तै लापरबाही अवगत गराउन चाहन्छौँ । अन्त्यमा प्रमुखज्यू हाम्रो बिर्तामोडमा काम गर्ने हामी बिर्तामोडवासीले पाउनुपर्छ । त्यसकारण जतिसक्दो हाम्रो खोसिएको रोजीरोटी पुनः फिर्ता गरियोस् भन्दै काम गर्ने अवसर प्रदान गरिदिनुहुन सादर अनुरोध गर्दछौ ।’
बिर्तामोड नगरपालिकाको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मेवारी निराकार कम्पनीलाई दिँदा काम गर्दै आएका सरसफाइ कर्मचारीलाई यथावत् राख्ने सम्झौता भएको थियो । रोजीरोटी गुमाएका ती सरसफाइ कर्मचारीहरूले आइतबार नगरपालिका कार्यालयमा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।