२०८३ असार ९ गते , मंगलबार
खनेर त्यतिकै छाडेको पोखरीमा डुबेर कचनकवलमा एक बालकको मृत्यु
दक्षिणी झापाको कचनकवलमा बालुवा माटो निकालेर त्यतिकै छाडेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ स्थित झोडा निवासी भीम लिम्बुको ११ वर्षीय छोरा रेजन लिम्बूको रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । घरदेखि ५० मिटर पश्चिम चिया बगान नजिकै २० फिट भन्दा गहिरो खनेर बनाइएको पोखरीमा बर्खाले पानी जमेको थियो । सोही पोखरीमा नुहाउने क्रममा बालक रेजनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रेजनसँगै उनका बहिनी पनि पोखरीमा नुहाउन गएका थिए । दाजु डुबेपछि बहिनीले तत्काल घर छिमेकलाई जानकारी गराएका थिए । घटनास्थल पुगेका स्थानीयले बालकलाई उद्धार गरेपनि उनको मृत्यु भइसकेको थियो । यता कानुनी प्रक्रिया पूरा गरी सीमा प्रहरी चौकी केचनाले शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको छ ।