माटो बचाउ भन्दै म्याराथन दौडमा रहेका नवीनलाई झापामा भव्य स्वागत
माटो जोगाऊँ भन्ने मूल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेची काली म्याराथन दौड सुरु गर्दै झापा आइ पुगेका छन् । बुधवार झापा आइपुगेका पर्वतका नवीन पुन मगरलाई बिहीबार सुरुङ्गाको हरिकुल नमुना उच्च माविले भव्य स्वागत सम्मान गरेका छन् । हरिकुल नमुना मावि समेत यस अभियानमा जोडिएर लामो समयदेखि माटो जोगाउ कार्यक्रम गर्दै आइरहेको छ ।
काठमाडौँको टुँडिखेलबाट १७ दिन पहिलेबाट सचेतना जगाउँदै म्याराथन दौड सुरु गरेका मगरले झापामा आफ्नो सचेतना अभियान सुरु गरेका छन् । सम्मान कार्यक्रममा बोल्दै अभियन्ता मगरले विश्वमा हरेक सेकेन्ड १२ कट्ठा जमिन मरुभूमि हुने गरेको भन्दै यही तरिकाले माटोको ऑर्गेनिक हराउदै जाने हो भने अबको ६० वर्षमा जमिनमा उब्जाउ हुन छाडने बताए । माटोको ऑर्गेनिक कम्तीमा ३ प्रतिशत हुनुपर्नेमा नेपालमा यो प्रतिशत २ भन्दा कम छ । नेपालको माटो समेत डेन्जर जोनमा परिसकेको भन्दै यसलाई नरोक्ने हो भने देश चाडै मरुभूमिमा परिणत हुने उनको भनाई छ ।
त्यस्तै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुर्खाले जोगाइदिएको माटोलाई हामीले थप ऑर्गेनिक बनाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । नगरपालिकाले ऑर्गेनिक खेतीलाई प्रोत्साहन गर्नका लागि फोहोरमैला व्यवस्थापन गरी ऑर्गेनिक मल उत्पादन गर्न थालिसकेको उनको भनाई छ । मगरको माटो जोगाउ अभियानमा सनम लिम्बु, अजय भण्डारी, निर्मल श्रेष्ठ समेत रहेका छन् । हरिकुल विद्यालयका प्रधानाध्यापक रोशन केसीले माटो जोगाउने अभियानमा जोडिनका लागि सबैलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा लायन्स क्लब अफ कनकाईका अध्यक्ष साजन थापा लगायतको सहभागिता रहेको थियो । मगर बिहीबार नै बिर्तामोड हुँदै इलामतर्फ लागिसकेका छन् । मगरले ७५ दिनमा ३ हजार ५ सय मिटरको म्याराथन दौड पुरा गर्दै देशका ७७ जिल्लामै माटो जोगाउनका लागि सचेतना अभियान दौड पुरा गर्ने लक्ष्य राखेको छ ।
