चट्याङ लागेर चार जनाको मृत्यु, तीन जना घाइते
कैलाली र कञ्चनपुरमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने, तीन जना घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा मङ्गलवार कैलालीमा दुई र कञ्चनपुरमा दुई गरी चार जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) वेदप्रकाश जोशीका अनुसार मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका-१ का ५६ वर्षीय सुगापङ्खी र कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ घर भई गोदावरी नगरपालिका-३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा ४८ वर्षीय पुनाराम चौधरी रहेका छन् ।
चट्याङ लागेर कैलालीको कैलारी गाउँपालिका-३ का ३२ वर्षीय धनीराम चौधरी र वडा नम्बर ४ का ३४ वर्षीय कृष्ण चौधरी घाइते हुनु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा उनीहरूलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । त्यस्तै, कञ्चनपुरको पुर्नवास नगरपालिका-८ का २५ वर्षीय शारदा थापा र सोही नगरपालिकाको वडा नम्बर ६ टाउन बजार प्रतिभा नगरका ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर ज्यान गएको छ । चट्याङ लागेर कञ्चनपुरकै बेलौरी नगरपालिका-९ की ३० वर्षीय बजलिया राना घाइते हुनु भएको छ । गुलरियास्थित ईशान अस्पतालमा उहाँको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।