बिर्तामोडमा व्यवसायीको आन्दोलन सफल, बिजुली बत्ती बाल्ने व्यवस्था मिलाइदिने नगरपालिका सहमत
झापा । बिर्तामोड ५मा रहेको बुधबारे हटियाका व्यवसायीहरूले बिजुली बत्ती बाल्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकामा आज भएको सर्वदलीय र सर्वपक्षीय बैठकमा बुधबारे हटियाका व्यवसायीहरूका लागि सात दिनभित्र बिजुली बत्ती बाल्ने व्यवस्था नगरपालिकाले मिलाइदिने सहमति भएको हो । सात दिनभित्र बिजुली बत्ती बाल्ने व्यवस्था नगरपालिकाले मिलाउने सहमति भएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । उनले आफूहरूको आन्दोलन सफल भएको दाबी गरे ।
आगामी सात दिनभित्र कार्यपालिकाको बैठक बसेर भइरहेको मिटरबाट व्यवसायीहरूलाई बिजुली बत्ती बाल्ने व्यवस्था मिलाउने मौखिक सहमति भएको नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताए । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाको समस्या समाधानको लागि सङ्ग्रौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तत्कालीन गाविस भएको बेला निकालिएको मिटरबाटै सबै व्यवसायीहरूलाई बिजुली बत्ती पाउने व्यवस्था मिलाइने संयोजक सङ्ग्रौलाले जानकारी दिए ।
बैठकमा जनप्रतिनिधि , पूर्व जनप्रतिनिधि ,पार्टी प्रतिनिधि , वाणिज्य सङ्घका प्रतिनिधि, जग्गादातालगायतको सहभागिता रहेको थियो । बिजुली बत्ती बाल्न पाउनुपर्ने मागसहित वाणिज्य सङ्घको अगुवाइमा बुधबारे हटियाका व्यवसायीहरू एक साताभन्दा बढी समयदेखि आन्दोलनरत रहेका थिए ।