मेचीनगरमा फेरि आगलागी : घर जल्यो, चौपाया मर्यो, एकजना घाइते
काँकडभिट्टा । मेचीनगर नगरपालिका- ७ काँकडभिट्टास्थित भान्सा खोलामा सोमबार राती आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । आगलागीमा परी तीन वटा चौपाया जलेर मरेका छन् । गाई जोगाउने क्रममा घरधनी समेत घाइते भएका छन् । ब्याउने गाई र बाच्छोसमेत डढेर घाइते छन् ।
स्थानीयका अनुसार मुना गिरीको ग्वालीमा करिब ९ बजेतिर आगलागी भएको थियो । आगलागीका कारण गिरीको ग्वाली जलेर पुरै नष्ट भएको छ । ग्वालीमा बाधेका तीन वटा बाख्रा डढेर मरेका छन् भने ब्याउने गाई र बाच्छोसमेत डढेका छन् । गाईको डोरी खोल्न क्रममा घरधनी ६५ वर्षीय नारायण ठकुरीसमेत घाइते भएका कारण आम्दा मेची अस्पताल धुलाबारीमा उपचारका लागि भर्ना गरिएको छ । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
विद्युत् सर्ट भएर घटना भएको आशङ्का स्थानीयको छ । स्थानीयवासी, मेचीनगर नगरपालिकाको वारुणयन्त्रले समयमै आगो नियन्त्रणमा लिइएका कारण थप क्षति हुन बाट जोगाइएको स्थानीय जोगिया चौधरीको भनाई छ । बाक्लो सडक साँघुरो भएका कारण वारुणयन्त्रलाई घटनास्थल पुग्न समय लागेको थियो ।
बाक्लो बस्ती रहेका गाउँका अधिकांश घर र ग्वाली चित्राका टाटी बेरा प्लास्टिकले बेरेका छन् । त्यस कारण पनि आगलागी हुने बित्तिकै सबैतिर फैलिने गरेको छ । बस्ती बाक्लो भए पनि विपद्का बखत वारुणयन्त्र तथा अन्य सवारी साधन पुग्ने अवस्था छैन । त्यस कारण पनि त्यो घटनालाई समयमै नियन्त्रणमा लिन गाह्रो भएको स्थानीयको भनाई छ ।