२०८३ असार ७ गते , आईतबार

रहेनन् पत्रकार माया पकुवाल

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ९ गते , सोमबार
रहेनन् पत्रकार माया पकुवाल

भद्रपुर । भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक तथा प्रकाशक माया पकुवालको सोमबार बिहान ५४ वर्षको उमेरमा निधन भएको छ ।

केही वर्ष अघि मिर्गौलाको सफल प्रत्यारोपण उपचार पश्चात् प्रेस क्लब भद्रपुरकी उपाध्यक्ष समेत रहेकी पत्रकार पकुवाल घरमै बसेर पत्रकारिता गर्दै आएकी थिइन् । एक साता अघि रुघाखोकी र निमोनिया सङ्क्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओम साई पाथीभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित पनि डाइलासिस भइरहेको थियो ।

ओम साई हस्पिटलको आइसियुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार बिहान ३ बजेर ३५ मिनेटमा पकुवालको निधन भएको उनका पति सञ्जय प्रधानले जानकारी दिए । उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा लगायतका संस्थामा आबद्ध रहेकी थिइन् ।

पत्रकार पकुवालका दुई छोरी रिचा र इचा छन् । एक छोरी घरमै रहेकी छन् भने अर्की छोरी अध्ययनका लागि विदेशमा रहेकी छन् ।बिहान ७ बजेतिर पकुवालको पार्थिव शरीरलाई हस्पिटलबाट निजी निवास लगिएको छ । आजै बिहान ११ बजे मेची नदीमा पत्रकार पकुवालको दाहसंस्कार गरिने भएको छ ।

सम्बन्धित समाचार