२०८३ असार ७ गते , आईतबार

पत्रकार चम्लागाईं, लेखक सङ्ग्रौला र त्रिफला राष्ट्रिय पुस्तकालय पुरस्कृत

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ७ गते , शनिबार
पत्रकार चम्लागाईं, लेखक सङ्ग्रौला र त्रिफला राष्ट्रिय पुस्तकालय पुरस्कृत
बिर्तामोड । जयेन्द्र प्रसाईँ साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष वितरण गरिँदै आएको पुरस्कार तथा सम्मान शनिवार एक कार्यक्रमका बिच वितरण गरिएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षता र साहित्यकार तथा नेपाल सरकारका पूर्व मुख्य सचिव भोजराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत वर्षोत्कृष्ट कृति, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मान र वर्षोत्कृष्ट सक्रिय धनमाया पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा वर्षोत्कृष्ट कृतिबाट २०७७ सालमा प्रकाशित कृतिमध्येबाट संक्रमण उपन्यासका लेखक राजेन्द्र सङ्ग्रौला, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मान २०७८ बाट धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालय र धनमाया वर्षोत्कृष्ट सक्रिय महिला पत्रकारिता पुरस्कारबाट कारोबार दैनिककी झापा समाचारदाता मनीषा चम्लागाईंलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
पुरस्कृत कृति, संस्था तथा व्यक्तिलाई प्रमुख अतिथि घिमिरे, संस्थाका अध्यक्ष तथा अतिथिहरूले नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए । पुरस्कारको राशि समान २१/२१ हजार रहेको छ ।

कार्यक्रममा वर्षोत्कृष्ट कृतिका कृतिकार सङ्ग्रौलाको व्यक्तित्वबारे कृषि छनौट समितिका संयोजक विष्णुकुमार भट्टराई, त्रिफला पुस्तकालयका बारेमा गङ्गा भट्टराई बोझे र धनमाया वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत चम्लागाँईको व्यक्तित्वबारे रेजिना गौतमले प्रकाश पारेका थिए । पुरस्कृतहरूको सम्मान पत्र डिल्लीराम प्रसाईँ र लोकराज ढकालले वाचन गरेका थिए ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले स्रष्टाको लेखनले समाजमा उज्यालो छाउनुपर्ने धारणा राखे । वर्तमानमा मान्छेको विश्वास समाचारमा रहेको बताउँदै प्रमुख अतिथि घिमिरेले सही सूचना सम्प्रेषण गरेर समाजलाई अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार मोहन भण्डारी, पुरस्कृतका तर्फबाट राजेन्द्र सङ्ग्रौलालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महासचिव छविलाल खतिवडाले स्वागत गरेका थिए भने सञ्चालन सचिव राजेन्द्र प्रसाईँले गरेका थिए ।

सम्बन्धित समाचार