२०८३ असार ७ गते , आईतबार
प्रमुख सेनानी अमरजंग थापालाई डेढ दर्जनबढी संघसंस्थाले गरे सम्मान
बिर्तामोड । झापाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी अमरजंग थापालाई विभिन्न संघ संस्थाहरूले सम्मान गरेका छन् । थापालाई एकका लागि एक अभियान लगायत बिर्तामोडका डेढ दर्जन बढी सामाजिक संघ संस्थाहरूले सम्मान गरेका हुन ।
२०७६ माघ २६ गतेदेखि झापाको चारआलीस्थित गणमा प्रमुख भएर आएका थापा सरुवा भएर शिवपुरी जाँदैछन । थापाले कोरोनाको महामारीका बिच झापा आएर शान्ति सुरक्षासँगै कोरोना महामारी नियन्त्रणमा समेत उच्च कौशलता प्रस्तुत गरेको भन्दै थापालाई सम्मान गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले बताए । गणपति थापालाई बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, युनिकम नेपालका केन्द्रीय सदस्य गजेन्द्र पौडेल र झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले शुभकामना दिएका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख सेनानी थापाले झापा स्मार्ट मानिसहरूको बसोबास रहेको जिल्ला भन्दै प्रशंसा गरे । थापाले कोरोना महामारी रोकथाममा एकका लागि एक अभियान लगायत अन्य संघ संस्थाहरूले पुर्याएको योगदान प्रशंसनीय भएको बताउँदै झापालीको उज्ज्वल भविष्यको कामना गरे ।
२०३८ सालमा नुवाकोटमा जन्मिएका थापा २०५८ सालदेखि नेपाली सेनामा कार्यरत छन् । थापा गोरखा दक्षिण बाहु चौथो, अति पैरवी भास्कर, प्रधान सेनापति प्रशंसा निशान पहिलो ०७३ र ०७७ लगायतका पदक तथा विभूषणबाट विभूषित भई सकेका छन् ।