२०८३ असार ७ गते , आईतबार

यस बर्षपनि किचकबध धार्मिक मेला नलाग्ने, दुई स्थानीय तहमा भोलि सार्वजनिक बिदा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ३ गते , मंगलबार
यस बर्षपनि किचकबध धार्मिक मेला नलाग्ने, दुई स्थानीय तहमा भोलि सार्वजनिक बिदा

(पार्थ मण्डल) झापा । महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलामा कोरोना महामारीका कारण यसबर्ष नलाग्ने भएको छ । 

किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल संरक्षण समितिले फागुन १ गते सूचना प्रकाशन गर्दै कोरोना महामारीका कारण यसबर्ष पनि किचकबध मेला नलगाउने निर्णय गरेको हो । 

हरेक वर्ष माघ शुल्क पूर्णिमा÷स्वस्थानी व्रतका दिन स्वतःस्फूर्त रुपमा किचकवध मेला लाग्दै आएको छ । भोलि (बुधवार) फागुन ४ गते किचकवध मेला लाग्ने दिन परेको छ ।  सरकारले मेला, महोत्सव र समारोह जस्ता कार्यक्रममा अत्यधिक भिडभाड नगर्न निर्देशन जारी गरेकोले यस वर्ष किचकबध मेला नलगाउने निर्णय गरिएको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए । 


अघिल्लो वर्ष पनि कोरोना सङ्क्रमणका कारण मेला आयोजना गरिएको थिएन । मेला नलागे भएपनि धार्मिक आस्था लिएर पूजाआर्चना गर्न आउने श्रद्धालु भक्तजनहरूलाई रोकटोक लगाउन नसकिने उनको भनाई छ । 

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकवधको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास छ । 

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन रहेको छ ।  भक्तजनहरूले भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्छन् । वर्षमा एक पटक लाग्ने यस किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो नै लाग्ने गरेको छ । महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए ।

पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ । सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो । 

भद्रपुर र कचनकवलमा स्थानीय बिदा

किचकवध धार्मिक मेलाको उपल्यक्षमा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले बुधवार स्थानीय बिदा दिने निर्णय गरेको छ । अघिल्लो वर्ष बाह्दशी र हल्दिबारी गाउँपालिकाले पनि स्थानीय बिदा दिने निर्णय गरेको थियो । 

भद्रपुर नगरपालिकाकाले सूचना जारी गर्दै किचकबध मेलाका दिन स्थानीय बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए । नगर कार्यपालिका अन्तरगत रहेका सबै निकाय र शैक्षिक संस्थामा बिदा दिइएको उनले बताए । त्यस्तै कचनकवल गाउँपालिकाले पनि भोलि स्थानीय बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए । 

यता हल्दिबारी गाउँपालिकाले भोलि दिने स्थानीय बिदाको बारेमा केही निर्णय नगरिसकेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनले जानकारी दिए । ‘किचकबध मेलामा अघिल्लो वर्षहरूमा बिदा दिइएको हो, यस वर्ष दिन वा नदिने विषयमा छलफल भइसकेको छैन,’ उनले भने । 

त्यस्तै अघिल्लो वर्षहरू स्थानीय बिदा दिँदै आएका बाह्रदशी गाउँपालिकाले पनि यस वर्ष स्थानीय बिदा दिने विषयमा निर्णय गरेको छैन । यस वर्ष बिदा दिने बारेमा गाउँपालिकाले निर्णय नगरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले जानकारी दिए ।



सम्बन्धित समाचार