२०८३ असार ७ गते , आईतबार
सतासीधाम पिकनिक स्पोर्टमा सभाहल निर्माण हुने
झापा । झापाको सतासीधाम सामुदायिक बन उपभोक्ता समूह र अन्तर्राष्ट्रिय झापाली समाज इजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोर्टमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोर्टमा भवन निर्माण हुने भएको हो ।
सतासीधाममा वनभोज खाएर रमाउने टोलीले सुरक्षित भवनको आवश्यकता ठानेपछि सभाहल निर्माण हुने भएको अन्तर्राष्ट्रिय झापाली समाज इजरायलका पूर्व अध्यक्ष सुवास खरेलले बताए । स्थानियबासिन्दा समेत रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सतासीधाम वनभोज स्थलमा स्थायी भवनको आवश्यकता औँल्याएपछि अन्तर्राष्ट्रिय झापाली समाज इजरायलको ध्यानाकर्षण भएको खरेलले बताए ।
खरेलका अनुसार २ वर्ष अघि नै सामुदायिक बन र समाज बिच सम्झौता भएको थियो । बन क्षेत्रमा स्थायी संरचना निर्माणमा कानुनी जटिलता देखिएपछि भवन निर्माणको योजना बिचैमा रोकिएको थियो । पछिल्लो समय जिल्ला बन कार्यालय इलामबाट सताक्षीधाम दक्षिणको करिब ४ सय मिटर दुरीको बन क्षेत्रलाई पर्यापर्यटनका लागि बन क्षेत्र स्वीकृत गरेपछि स्थायी संरचना निर्माण हुन लागेका हुन् ।
सो क्षेत्रमा सभाहल, शौचालय, खानेपानी, विद्युत्, सञ्चार लगायतका लागि पूर्वाधार निर्माण हुने छन् । यसका लागि जिल्ला बन कार्यालय इलामले साढे तीन हेक्टर क्षेत्र पर्यापर्यटनका लागि छुट्टाएको सामुदायिक बनका अध्यक्ष हेमबहादुर थापाले बताए ।
समाजले ८ लाख र सतासीधाम सामुदायिक बन उपभोक्ता समूहले ८ लाख गरेर १६ लाखमा भवन निर्माण हुन लागेको छ । २ सय ५० मानिस अटाउन सक्ने हल निर्माण हुने सामुदायिक बनका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यो भवन तीन महिनामा निर्माण सम्पन्न हुने छ ।
भवन निर्माण भएपछि वनभोजका लागि सताक्षीधाम आउनेले जस्तोसुकै कार्यक्रम गर्न सक्ने छन् । हावा, हुण्डरी, पानी लगायतका प्राकृतिक प्रकोपमा पनि वनभोज खान आउने सुरक्षित हुने छन् । झिलझिले सताक्षीधाम सडक पनि कालोपत्रे हुन थालेपछि सतासीधाम वनभोज क्षेत्र वनभोज खानेका लागि पूर्वमा आकर्षक गन्तव्य हुने नेपाली काँग्रेसका शिवसताक्षी नगर उपसभापति सन्त फेवदिनले बताए ।
अन्तर्राष्ट्रिय झापाली समाज इजरायलका पूर्व अध्यक्ष खरेल, सामुदायिक बनका अध्यक्ष थापा र नेपाली काँग्रेस शिवसताक्षीका उपसभापति सन्तकुमार फेवदिनले संयुक्त रुपमा भवनको सोमबार एका कार्यक्रमका बिच उद्घाटन गरेको निर्माण उपभोक्ता समितिका सचिव राकेश रिजालले बताएका छन् ।