अझै नियन्त्रणमा आएन मगमग चाउचाउ उद्योगमा लागेको आगो (तस्बिरसहित)
झापा । मेचीनगर नगरपालिका- १४ दुवागढीस्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग) मा लागेको आगो ८ घण्टा बितिसक्दा पनि नियन्त्रणमा आएको छैन ।
चाउचाउ उद्योगमा शनिवार बिहान साढे ४ बजे लागेको आगो दिउँसो साढे २ बजेसम्म पनि नियन्त्रणमा नआएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । आगलागीको कारण अझै खुल्न नसकेको र क्षतिको विवरण आई नसकेको उनले बताए । आगो निभाउन झापासहित छिमेकी जिल्ला गरी १५ वटा दमकल आएको उनको भनाई छ ।
आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, तयारी चाउचाउ, मेसिनरी औजार र भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । 'नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, सर्वसाधारण लगायतले आगो निभाउन सहयोग गरिरहेका छन्,' डिएसपी पाठकले भने, ुदनदनी बलेको आगो नियन्त्रणमा आए पनि पूर्ण रुपमा नियन्त्रणमा आउन अझै केही घण्टा लाग्ने छ ।' एक अर्बको लगानीमा २०७५ असोजमा उद्योगको स्थापना भएको थियो ।
उद्योगमा स्व. परशुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, बुद्धि घिमिरे, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गरेका छन् । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीमा केही पनि माल बस्तु जोगाउन नसकिएको र करोडौँ क्षति भएको जानकारी दिएका छन् ।