२०८३ असार ७ गते , आईतबार
चन्द्रकान्त ढकालद्वारा पत्रकार उपचार कोषलाई २५३३३ प्रदान
बिर्तामोड । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सिके अंकल)ले बिहीबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका छन् ।
ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत कात्तिक १२ गते आफ्नो जन्मोत्सवको अवसर पारेर ढकालले कोषमा सहयोगको घोषणा गरेका थिए ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कार्यसमिति सदस्य होमप्रकाश अधिकारीलाई ढकालले कोषका लागि नगद रकम हस्तान्तरण गरेका हुन् ।
१८ वर्ष देखि पूर्वाञ्चल दैनिकमा आबद्ध रहेर क्रियाशील ढकाल लेखक तथा आध्यात्मिक साधकको रुपमा परिचित छन् । उनले पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।
कोषको ब्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।
आफू झैँ अरूले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृ स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने ढकालले बताए ।
महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैङ्क तथा दाता सबैलाई एक पटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।
पूर्वाञ्चल दैनिकमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी, अग्रज पत्रकार लक्ष्मण ढकाल, स्वतन्त्र पत्रकार सङ्घका झापा अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र ढकाल, महासंघका सदस्य पार्थ मण्डल, सन्तोष अधिकारी, पूर्वाञ्चल दैनिकका बजार व्यवस्थापक लीला आचार्य सहित विभागीय प्रमुखहरू र संस्थाका कर्मचारीको सहभागिता थियो ।