२०८३ असार ७ गते , आईतबार

हुलाकी राजमार्गको काममा ढाँट राखेर अवरोध, जनप्रतिनिधिसँगै चर्काचर्की

sajilo news
पार्थ मण्डल
२०७८ माघ २६ गते , बुधबार
हुलाकी राजमार्गको काममा ढाँट राखेर अवरोध, जनप्रतिनिधिसँगै चर्काचर्की

झापा । हुलाकी राजमार्गको काममा अवरोध भएपछि स्थानीयबिच चर्काचर्की भएको छ । झापा गाउँपालिका ४ को हुलाकी राजमार्गअन्तर्गत दुई व्यक्तिका कारणले काममा अवरोध भएपछि अन्य स्थानीयले हुलाकी बाटोमा ढाँट राखेर अवरोध गरेका थिए । बाटो अवरोध गरेर यातायात एक घण्टासम्म ठप्प पारेका थिए । यातायात ठप्प भएपछि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको अनुरोधमा बाटो बन्दकर्ताहरुले ढाँट हटाएका छन् ।

हुलाकी राजमार्गको काममा अवरोध गर्नेहरूमा शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पुडासैनी र घनेन्द्रप्रसाद गणेश रहेका थिए । झापा गाउँपालिकाको कार्यालयले एक वर्ष अगाडीदेखि नै शिव मन्दिरको छेउमा रहेका सम्पूर्ण संरचनाहरू हटाउन भनेको थियो । अरूले आफ्ना संरचना हटाए पनि व्यवस्थापन समितिले अटेर गरी इनार हटाएको थिएन । इनार नहटाएपछि हुलाकी बाटो निर्माणको काममा अवरोध भएको थियो । इनारको विषयलाई लिएर झापा गाउँपालिका अध्यक्ष शाह र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीबिच चर्काचर्की भएको थियो ।
हुलाकी राजमार्गभित्र इनार पर्ने भएपछि बुधवार नै जनप्रतिनिधि ,सुरक्षा निकाय र स्थानीयवासीको रोहवरमा भत्काइएको छ । इनार भत्काएपछि गाउँपालिका अध्यक्ष शाहले मन्दिरको लागि अर्को इनार बनाइदिने प्रतिबद्धता समेत गरेका छन् । बाटो अवरोध गर्ने अर्का व्यक्ति घनेन्द्रप्रसाद गणेशले हुलाकी राजमार्गले जबरजस्ती आफ्नो जग्गा कब्जा गरेको दाबी गरेका छन् । बाटोको बिच भागबाट ४०/४० फिट लिनुपर्नेमा आफ्नो जग्गाबाट एकलौटी ४५ फिट लिएपछि आफूले बिजुलीको पोल गाड्न अवरोध गरेको उनले बताए ।

झापा बजारलाई भविष्यमा स्मार्ट सिटी बनाउने उद्देश्यले झापा गाउँपालिकाले रजत जयन्ती चोकदेखि १.५ किलोमिटर टाढा पंचम चोकसम्म हुलाकी राजमार्गको केन्द्रबिन्दुबाट ४०–४० फिट सडक खाली गराएको छ ।

सम्बन्धित समाचार