भूमिहीन व्यवस्थापनका लागि आयोग र बिर्तामोड नगरपालिका बिच सम्झौता
झापा । राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिका बिच भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता भएको छ ।
आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोग बिच दुई पक्षीय सम्झौता भएको हो । सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलक सिंह पाण्डे,सदस्य दाताराम खनाल,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार सिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतामा नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको पहिचान लगत सङ्कलन र प्रमाणीकरणको काम गर्ने जनाइएको छ । यस पछि दुवै पक्षले जग्गाको पहिचान र छनोट गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय भूमि आयोगले दोस्रो चरणमा बिर्तामोड नगरपालिकालाई छनोट गरेको हो । आयोगले पहिलो चरण अन्तर्गत जिल्लाको दमक, कनकाई, शिवसताक्षी र बुद्धशान्ति गाउँपालिकालाई छनोट गरेको थियो ।