२०८३ असार ७ गते , आईतबार
निर्माण लहर साप्ताहिक ११ औं वर्षमा प्रवेश
भद्रपुर । झापाबाट निरन्तर प्रकाशित निर्माण लहर साप्ताहिक ११ औ वर्षमा प्रवेश गरेको छ । विधागत पत्रकारिताको अभ्यास स्वरूप आर्थिक विधालाई प्रमुखतामा राखेर वि स. २०६८ माघ २४ मा प्रकाशन सुरु भएको निर्माण लहर साप्ताहिक १० वर्ष पूरा गरी आजदेखि ११ औं वर्षमा प्रवेश गरेको सम्पादक रोहित काफ्लेले जानकारी दिए । पत्रिकाले आर्थिक विषयवस्तुलाई बढी समेट्ने गरेको छ ।
निर्माण लहर झापाको पहिलो र एक मात्र आर्थिक पत्रिका भएको दाबी गर्दै सम्पादक काफ्लेले भने, ‘निर्माण लहर आर्थिक समृद्धिको सहयात्री हो ।’ पत्रिकाको मंगलबार संवाद स्तम्भलाई पाठकहरूले निकै रुचाएका छन् । पत्रिकाले विभिन्न समयमा निजी तथा सहकारी क्षेत्रबाट सम्मान पुरस्कार पनि प्राप्त गरेको छ ।
पछिल्लो समय विश्वव्यापी महामारी कोरोना भाइरसका कारण पत्रिका वितरणमा केही समस्या उत्पन्न भएको बताउँदै सम्पादक काफ्लेले परिस्थिति सामान्य अवस्थामा फर्किएपछि वितरणलाई थप विस्तार र व्यवस्थित बनाइने जानकारी दिए ।
निर्माण लहर साप्ताहिक प्रकाशन समूहको अध्यक्षमा नवराज पनेरू रहेका छन् भने सम्पादकीय टिममा अनिल ढुङ्गाना, भास्कर शर्मा र गङ्गा बराल रहेका छन् । निर्माण लहर प्रेस काउन्सिल नेपालको वर्गीकरणमा (ख) वर्गको पत्रिका हो ।