२०८३ असार ७ गते , आईतबार

प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया

sajilo news
पार्थ मण्डल
२०७८ माघ २२ गते , शनिबार
प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना दिवसको अवसरमा पत्रकारिता आचारसंहिता सम्बन्धी अन्तरक्रिया गरेको छ ।

२४ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा आचारसंहिता विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सहजीकरण गरेका थिए । उनले पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिताका बारेमा चौतारीमा आबद्ध सदस्यहरूलाई सहजीकरण गरेका हुन् । कार्यक्रममा सहभागीहरूले राखेको जिज्ञासामा पोखरेलले स्पष्ट बनाएका थिए । आचारसंहिता पालना गरेर मात्रै पत्रकारिता गर्न उनको सुझाव थियो ।    

प्रेस चौतारी नेपाल झापाद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले आफ्नो सिङ्गो पार्टी समयमा नै चुनाव गराउन परमादेशबाट बनेको सरकारलाई दबाब दिइरहेको बताएका छन् ।  उनले स्थानीय निर्वाचन गर्न पनि दबाब दिइरहनु परेको बताए ।

अध्यक्ष कार्कीले एमालेको दबाब नभए परमादेश सरकार निर्वाचन गर्न तयार नहुने बताउँदै प्रेस चौतारीलाई निर्वाचनका लागि पार्टीको एजेन्डाको पक्षमा कलम चलाउन आग्रह गरे । चौतारी पार्टीको जनसङ्गठन भएकाले राजनीतिक रूपमा एमालेलाई सबल बनाउन महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

सो कार्यक्रममा प्रेस चौतारी नेपालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा सङ्गठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले प्रकाश पारेका थिए ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र बिर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन मैनाली लगायतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष प्रदीप परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए । 

सम्बन्धित समाचार