२०८३ असार ७ गते , आईतबार

आगलागीले सन्थाल परिवारको बिचल्ली

sajilo news
पार्थ मण्डल
२०७८ माघ १७ गते , सोमबार
आगलागीले सन्थाल परिवारको बिचल्ली

(धर्मेन्द्र मामा) मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ निवासी लखी मर्डीको घरमा आगलागी हुँदा भएको सम्पूर्ण जायजेथा जलेर नष्ट भएको छ 

चिया बगानमा मजदुरको काम गर्ने मर्डी गत शुक्रबार पनि काममा व्यस्त थिइन् । घरमा कोही पनि नभएको बेला अचानक आगलागी भएर घर ध्वस्त भएपछि मात्र उनले खबर पाईन् । सुकुम्बासी बस्तीमा घर बाक्लै भएपनि आगलागी भएको बेला सबै मजदुरी काम गर्न गएको र आगलागी नियन्त्रण गर्न नसकिएको छिमेकीहरुले बताए । केही कारणले आगलागी भयो भन्ने कुनै यकिन हुन नसकेपनि विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आफूले काम गर्न जाँदा लगाएको लुगाबाहेक सबै लुगाफाटा र खाद्यान्न जलेर नष्ट भएपछि अहिले उनी विचल्लीमा परेकी छन्। पन्ध्र बर्ष अघिदेखि नै श्रीमानले छोडेपछि दुई छोराछोरीका साथ गुजारा गर्दै आएकी मर्डीले अब के गर्ने कसरी घर बनाउने भन्ने चिन्ताले पिरोलेको बताइन। लामो समयदेखि आँखाको समस्याले ग्रस्त आफ्नो छोराको अप्रेसन गर्ने उद्देश्यले जम्मा गरेर राखेको नगद ६० हजार पनि जलेर खरानी भएपछि उनी थप पीडित बनेकी छन्।

दिनभरि मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्दै आएकी आफ्नी दिदीको घर जलेपछि अब कसरी सहयोग गर्ने भन्ने चिन्तामा छन् उनका दाजु भुपेश मर्डी । ‘दिन दशा पनि गरिबलाई नै लाग्ने रहेछ’ दुखित हुँदै भुपेशले भने , ‘सबै मनकारीहरुले यस दुःखमा साथ दिए फेरि बहिनीको एउटा सानो झुपडी बनाउन सकिन्थ्यो कि भन्ने उनको झिनो आशा छ ।’

जाडोको समयमा आफ्ना लुगाफाटो सबै जलेपछि अहिले नेपाल रेडक्रस सोसाइटीले दिएको एउटा त्रिपालमुनि रात कटाइरहेका छन्। एक स्थानीय सहकारी संस्थाले केही खाद्यान्न उपलब्ध गराएको छ भने गाउँलेहरुले सानोतिनो सहयोग जुटाईदिएका छन्। बिचल्लीमा परेको मर्डी परिवारलाई सहयोग गरिदिनु हुन दाजु भुपेशले सबैसंग आग्रह गरेका छन्।

सम्बन्धित समाचार