२०८३ असार ७ गते , आईतबार
भद्रपुर जेसीजको ४६ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
भद्रपुर । भद्रपुर जेसीजको ४६ औ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सन् २०२१ का अध्यक्ष खिलनाथ पाण्डे निकासको अध्यक्षता तथा पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट नागरिक सम्मान, क्यान्सर रोग पीडितलाई आर्थिक सहयोग, भद्रपुर जेसीज स्मारिका विमोचन लगायत कार्यक्रम गरी पद हस्तान्तरण गरिएको हो ।
सन् २०२१ का अध्यक्ष खिलनाथ पाण्डे निकासको गलामा रहेको जेसीज चेन सन् २०२२ का नवनिर्वाचित अध्यक्ष मनोज भट्टराईलाई पहिराएर भद्रपुर जेसीजको ४६ औ पदस्थापन गरिएको थियो ।
कार्यक्रममा नगद ११ हजार एक सय ११ रुपैयाँ सहित उत्कृष्ट नागरिक सम्मानबाट प्रा. डा. के. आर खम्बुलाई सम्मान गरिएको थियो भने ३ जना क्यान्सर रोगीलाई जनही ५ हजारका दरले उपचार खर्चका लागि आर्थिक सहयोग गरिएको थियो ।
भद्रपुर जेसीजको सन् २०२२ का लागि अध्यक्षमा मनोज भट्टराई, कार्यकारी उपाध्यक्षमा युवराज न्यौपाने र टिकाराम पाण्डे, महासचिव रमेश कार्की, उपाध्यक्षहरू क्रमशः केशव अधिकारी, प्रकाश भट्टराई, विजयकुमार अधिकारी र सरोज ढकाल निर्विरोध चयन भएका थिए भने बाँकी सबै पदाधिकारी सहित बोर्ड सदस्यलाई समेत नयाँ समितिले पूर्णता दिएको छ ।