२०८३ असार ७ गते , आईतबार
छोरीको जन्मोत्सव व्यवसायी प्रसाईँद्वारा झापा कारागारमा सेनेटरी प्याड वितरण
झापा । झापा कारागार भद्रपुरका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । छोरीको जन्मदिनको उपलक्ष्यमा समाजसेवी श्याम प्रसाईँ (एसपी)ले कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् ।
छोरी कृष्टिना प्रसाईँको २० औं जन्मदिनको अवसरमा समाजसेवी प्रसाईँले कारागारमै पुगेर सेनेटरी प्याड वितरण गरेका हुन् ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कारागार प्रमुख सावित्रा बस्नेत (कार्की)को उपस्थितिमा प्रसाईँ सहित उनकी छोरी कृष्टिना, छोरा संकेतले संयुक्त रुपमा महिला कैदबन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् ।
जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत महिला कैदीलाई सेनेटरी प्याड वितरण गरिएको श्याम प्रसाईँले जानकारी दिए । उनले प्रत्येक महिला कैदीलाई १ वर्ष सम्म पुग्ने गरी १२ प्याकेटका दरले ७७ जना कैदीलाई ९ सय २४ प्याकेट सेनेटरी प्याड वितरण गरिएको बताए ।
साथै प्रसाईँले महिला कारागारमा खानेपानी ट्याङ्कीको अभावमा पानी पिउन समस्या रहेको जानकारी पाए पश्चात् एक हजार लिटरको पानी ट्याङ्की खरिद गरिदिने घोषणा समेत गरेका छन् । त्यस्तै कारागार परिसर भित्र अपुरो रहेको मन्दिर समेत बनाइदिने उनले प्रतिबद्धता जाहेर गरेका छन्