२०८३ असार ७ गते , आईतबार
इनर व्हील क्लबद्वारा भद्रपुरका ७० परिवारलाई न्यानो लुगा र जुत्ता वितरण
भद्रपुर । सामाजिक संस्था इनर व्हील क्लब अफ भद्रपुरले सोमबार एक कार्यक्रमका बिच ७० घर परिवारलाई न्यानो लुगा र जुत्ता वितरण गरेको छ । ९८ औं अन्तर्राष्ट्रिय इनर व्हील दिवसको अवसरमा इनर व्हील क्लबले भद्रपुर- ९ स्थित सुकुम्वासी बस्तीका विपन्न परिवारलाई न्यानो लुगा र जुत्ता वितरण गरेको हो ।
क्लबका अध्यक्ष कुसुम अधिकारी (पराजुली)को अध्यक्षमा भएको कार्यक्रममा भद्रपुर ९ नम्बर वडा सदस्य राम दाहाल लगायत क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको क्लबका सदस्य लिना राई (श्रेष्ठ) ले जानकारी दिइन् ।
त्यस्तै सोही दिवसको अवसरमा क्लबले सिटी रिक्सामा इनर व्हील क्लबको स्टिकर समेत टाँस गरेका थिए । यसअघि क्लबले तीन जना सिटी रिक्सा महिला चालकलाई नगदसहित सम्मान गरेको थियो । क्लबले नगर क्षेत्रमा निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको अध्यक्ष अधिकारीले बताइन् ।