शिवसताक्षी नगरपालिका भूमिहीन र सुकुमवासीप्रति बेपर्वाह : ६ दलले बुझाए ज्ञापनपत्र
झापा । शिवसताक्षी नगरपालिकाले भूमिहीन र सुकुमवासीको समस्या समाधानमा चासो नदेखाएको भन्दै ६ वटा राजनीतिक दलले आपत्ति जनाएका छन्।
भूमिहीन एवं सुकुवासीको समस्या समाधानका लागि शिवसताक्षीलाई नमुना पालिकाको रूपमा चयन गर्दै नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले सम्झौताका लागि बोलाउँदा समेत नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा नगएर समस्या समाधानमा बेवास्ता गरेकोप्रति नगरपालिकाका ६ दलहरूले आपत्ति जनाएका हुन्।
नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष महेन्द्र भट्टराई, नेकपा ९एकीकृत समाजवादी०का नगर उपाध्यक्ष खड्गध्वज खापुङ, सङ्घीय लिम्बुवान मञ्च नेपालका नगर अध्यक्ष प्रकाश लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष मणिप्रसाद खड्का, जनता समाजवादी पार्टीका नगर अध्यक्ष पल्टन ताजपुरियाले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै मेयर शेर्माको बेवास्ताप्रति आपत्ति जनाएका हुन्।
एमाले बाहेक नगरमा क्रियाशील राजनीतिक दलहरूले ती मागप्रति मेयर शेर्माको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको कांग्रेस नगर सभापति बस्नेतले जानकारी दिए।
राष्ट्रिय भूमि आयोगले चलानी नम्बर १९१, २०७८ पुस २० गतेको परिपत्रअनुसार पुस २४ गते शिवसताक्षी नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दरबार ब्याङकेट सोल्टीमोड, काठमाडौँमा आमन्त्रण गरेको थियो।
भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीको लगत सङ्कलन सम्बन्धीको कार्यविधि २०७८ को दफा ३ मापदण्ड बमोजिम सम्झौता गर्न उक्त आयोगले सूचित गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त सूचनालाई बेवास्ता गर्दै मेयर शेर्मा र प्रमुख प्रशासकीय अधिकृत सम्झौता गर्न नगएको बुझिएको जनाउँदै विज्ञप्तिमा यसबाट हुने दूरगामी क्षतिप्रति सचेत गराइएको छ। सम्बन्धित निकायमा यथाशीघ्र सम्पर्क गरी सम्झौता गर्न र त्यसको आधिकारिक जानकारी स्थानीय राजनीतिक दललाई गराउन आग्रह गरिएको छ। विज्ञप्तिमा नेपाल सरकारको नीति, नियम र कार्यक्रमको पालना नगर्दा भूमिहीन सुकुमवासीको संवेदनशीलता र भविष्यमाथि खेलबाड भए त्यसबाट उत्पन्न हुने परिणामप्रति जबाफदेही हुन मेयरलाई सचेत गराइएको छ।