२०८३ असार ७ गते , आईतबार

ओलीले गरे सहिद मनोज झपेन्द्र स्मृति राष्ट्रसेवक सामुदायिक भवन उद्घाटन

sajilo news
पार्थ मण्डल
२०७८ पौष २५ गते , आईतबार
ओलीले गरे सहिद मनोज झपेन्द्र स्मृति राष्ट्रसेवक सामुदायिक भवन उद्घाटन
(रोहित काफ्ले) भद्रपुर । नेपाल निजामती कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाको संयुक्त अगुवाइमा निर्माण भएको झापा भद्रपुर- १० स्थित सहिद मनोज झपेन्द्र स्मृति राष्ट्रसेवक सामुदायिक भवनको आज आइतबार उद्घाटन गरिएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलालेख अनावरणसँगै रिबन काटेर भवनको उद्घाटन गरेका हुन् । विसं २०७० माघ ५ गते ओलीले नै उक्त भवन शिलान्यास गरेका थिए । सोह्र कोठाको दुई तले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको भवन निर्माण समितिका संयोजक एवम् सङ्गठनका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद  गुरागाईँले बताए ।
भवन निर्माणका लागि राष्ट्र सेवक सहकारी संस्थाबाट रु. ५० लाख, शान्ति मन्त्रालयबाट रु। २८ लाख, तत्कालीन जिल्ला विकास समितिबाट रु। तीन लाख ८२ हजार, सांसद विकास कोषबाट रु। एक लाख ९६ हजार २५०, जिल्ला प्राविधिक कार्यालयबाट रु। एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट रु। एक लाख ४६ हजार सहयोग प्राप्त भएको थियो ।
यसैगरी विभिन्न दाताबाट रु. ४२ लाख ४१ हजार ६१३ सङ्कलन भएको थियो । भवन निर्माणका लागि रु। ५२ लाख ५० हजार राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको थियो ।
भद्रपुर नगरपालिका– १० मा दुई कट्ठा १५ धुर जग्गामा बनेको भवनको भुईँ तलामा १४ कोठा र पहिलो तलामा दुई सभाकक्ष छन् ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री ओलीले कर्मचारीलाई जनताको काममा ढिलासुस्ती नगर्न आग्रह गरेका थिए ।
सेवाग्राहीको काम सहज र पारदर्शी ढङ्गले छिटोछरितो रुपमा गरिदिन आग्रह गर्दै उहाँले यो वा त्यो बहानामा सेवाग्राहीलाई नअल्मल्यान आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनहरूमा कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै भ्रष्टाचारजस्तो जघन्य अपराध नगर्न पनि कर्मचारीहरूलाई सुझाए ।
आफ्नो नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको भन्दै ओलीले वर्तमान सरकारले विकास–निर्माणका काममा केही गर्न नसकेको दाबी गरे । आफू प्रधानमन्त्री हुँदा विकास निर्माणका सयौँ योजनाहरूको शिलान्यास र उद्घाटन गरेको भन्दै ओलीले विकासको लहर देखेर अत्तालिएकाहरूले आफ्नो नेतृत्वको ‘जनादेश’को सरकार ढालेर ‘परमादेश’को सरकार बनाएको आरोप लगाए ।
समारोहमा भवन निर्माणका लागि सुरुमै १ लाख ११ हजार सहयोग गर्ने पूर्व कर्मचारी एवम् भद्रपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष विनोद पोखरेललाई सम्मान गरिएको थियो भने झापाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको थियो । प्रमुख अतिथि ओलीले पोखरेललाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईँको अध्यक्षतामा आयोजित समारोहको सञ्चालन राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले गरेका थिए भने सङ्गठन झापाका अध्यक्ष केदार पोखरेलले स्वागतसहित भवन निर्माण सम्बन्धी विवरणहरू प्रस्तुत गरेका थिए ।
समारोहमा र नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औं महाधिवेशन आयोजक कमिटकिा संयोजक केदारप्रसाद देवकोटा र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष पुण्यप्रसाद ढकालले शुभकामना मन्तव्य राखेको राष्ट्रसेवक साकोसका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । 

सम्बन्धित समाचार