२०८३ असार १ गते , सोमबार

भद्रपुरमा ट्याक्टर र ट्याम्पो एकआपसमा ठोक्कियो, दुईको मृत्यु, दुई जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १ गते , शुक्रबार
भद्रपुरमा ट्याक्टर र ट्याम्पो एकआपसमा ठोक्कियो, दुईको मृत्यु, दुई जना घाइते

झापा । भद्रपुरमा ट्याक्टर र अटो ट्याम्पो एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा भद्रपुर-१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका ४० वर्षीय डम्बरबहादुर लिम्बु रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

घाइते ट्याम्पो चालक भद्रपुर-१ निवासी ४२ वर्षीय वीरबहादुर लिम्बु र ट्याम्पोमा सवार सोही ठाउँका ३२ वर्षीय नर बहादुर लिम्बुको ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको छ । चालक वीरबहादुरको टाउको र खट्टामा चोट लागेको छ, भने नरबहादुरको शरीरका विभिन्न स्थानमा चोट लागेको डिएसपी थापाले बताए ।

मेची राजमार्ग अन्तरगत चाराआली-केचना सडक खण्ड अन्तरगत भद्रपुर- २ स्थित सगरमाथा चोक नजिकै शुक्रवार दिउँसो २ बजे २० मिनेटमा भद्रपुर बाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टरसँग विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको अटो ट्याम्पो ठोक्किँदा दुर्घटना भएको थियो ।

ट्याम्पोमा तीन यात्रु र चालक सवार थिए । यात्रु छविमायाको घटनास्थलमै र डम्बरबहादुरको उपचारको क्रममा मृत्यु भएको हो । यता ट्याक्टर र ट्याक्टर चालक कचनकवल गाउँपालिका ३ निवासी ३३ वर्षीय सागर सिंह राजवंशीलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले  नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार