जामुनखाडी सिमसार क्षेत्रमा रोटरीको वृक्षारोपण
झापा । पूर्वकै प्रसिद्ध पर्यटकीय नगरी कनकाईको जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न प्रजातिका दुई सय बिरुवा रोपण गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लब अफ सुरुङ्गाको आयोजना एवम् रोट्रयाक क्लब अफ सुरुङ्गाको सहकार्यमा वृक्षारोपण कार्यक्रम भएको हो । रोटरी क्लब सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठको सभापतित्व एवम् जामुनवारी सामुदायिक वन समूह साथै सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष ख्यामराज सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षारोपणको औपचारिक कार्यक्रमको सञ्चालन रोट्रयाक क्लबकी सचिव सारिका गिरीले गरेकी थिइन् ।
वृक्षारोपण कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल लगायत क्लबका पदाधिकारीहरू साथै रोट्रयाक क्लबका अध्यक्ष दिपेन ओली साथै अन्य पदाधिकारीहरूको सहभागिता रहेको रोटरी क्लब अफ सुरुङ्गाका मिडिया कोडिनेटर पत्रकार रामप्रसाद निरौलाले जानकारी दिएका छन् ।
झापाको कनकाई नगर क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ताहरूले नेतृत्व गरेको संस्था रोटरी क्लबले कनकाई नगर लगायत आसपासका क्षेत्रहरूमा समेत विभिन्न सामाजिक गतिविधि गर्दै आएको क्लबका अध्यक्ष सुशिलकुमार श्रेष्ठले बताए । क्लबको वार्षिक क्यालेन्डर अनुसार वातावरणको शुद्धतामा विशेष ध्यान दिँदै क्लबले हरेक वर्ष बेग्ला बेग्लै स्थानमा वृक्षारोपण गर्नुका साथै त्यसको संरक्षण गर्ने कार्यमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ । क्लबले दुई वर्ष अघि झापा गाउँपालिकास्थित रानी सामुदायिक वन क्षेत्रमा समेत विभिन्न जातका बिरुवा रोपण गरेर त्यसको संरक्षणका लागि सक्रियता देखाउँदै आएको छ ।
तीन वर्ष अघि मात्र स्थापना भएको सुरुङ्गा रोटरीले स्थापना वर्षदेखि नै स्थानीय स्तरमा लक्षित वर्गलाई न्यानो कपडा वितरण, शुद्ध पिउने पानी तथा सरसफाइ, आधारभूत शिक्षामा सहयोग, शारीरिक रुपमा अशक्त भएका बालबालिकाहरूका लागि ह्वील चेयर वितरण लगायत समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा समेत महत्त्वपूर्ण कार्य गर्दै आएको क्लबका पूर्व अध्यक्ष एवम् डिस्ट्रिक्ट पब्लिक इमेज कमिटीका को—चेयर कुमारमणि पोखरेलले बताएका छन् । सामाजिक क्षेत्रमा निस्स्वार्थ ढङ्गले रचनात्मक कार्य गर्दै आएको क्लबले आफ्नो वार्षिक क्यालेन्डर निर्माण गरी सेवाका क्षेत्रमा समेत महत्त्वपूर्ण कार्य गर्दै आएको बताइएको छ ।