२०८३ असार १ गते , सोमबार

सडक बिचमा राखिएको 'सालिक' बन्यो काल ! यस्तो छ तेजमणि प्रसाईँको खुला अपिल

sajilo news
पार्थ मण्डल
२०७८ असार २६ गते , शनिबार
सडक बिचमा राखिएको 'सालिक' बन्यो काल ! यस्तो छ तेजमणि प्रसाईँको खुला अपिल

झापा । मेची राजमार्गको चाराआली-केचना सडक खण्ड अन्तरगत भद्रपुर-९ स्थित देवकोटाको सालिकको कम्पाउन्डमा कार ठोक्किँदा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईँको मृत्यु भएको छ । प्रसाईँ आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार राजमार्गको बिचमा रहेको देवकोटाको सालिकको कारण दुर्घटना भएको भन्दै अहिले सामाजिक सञ्जालमा व्यापक आलोचन भइरहेको छ । सालिकका कारण उनको मृत्यु भएपछि अहिले राजमार्ग र सडकका चोक-चोकमा राखिएको सालिकलाई अन्यत्र स्थानान्तरण र हटाउन भन्दै सर्वत्र चर्चा भइरहेको छ ।

यस्तो चर्चाका बिच बिर्तामोडका तेजमणि प्रसाईँले सडक बिचमा निर्माण गरिएका स्तम्भ हटाइदिनुहुन भन्दै फेसबुकमार्फत खुला अपिल गरेका छन् । उनले जिल्ला समन्वय समिति झापा, प्रमुख जिल्ला अधिकारी, सबै स्थानीय तहका प्रमुख, झापाका सभासद्, सडक विभागका प्रमुख र सबै राजनीतिक दलका प्रमुखलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन्, 'अल्प विकासबाट विकासोन्मुख हाम्रो देशमा केही वर्ष यता मात्र सडक चौडा बनाउने, सडकको मापदण्ड फराकिलो बनाउने कार्य भइरहेको छ।

मूल सडकमै ठाउँ ठाउँमा विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सालिक राखिएको छ। खास गरेर भद्रपुर ,चन्द्रगढी क्षेत्रमा आदिकवि भानुभक्त, महाकवि लक्ष्मी प्रसाद, साहित्यकार लेखनाथ, साहित्यिक र राजनीतिक व्यक्तित्व बिपी कोइराला लगायतको सालिक साँघुरो सडकको बिचमा राखिएको छ।चन्द्रगढीमै महेन्द्र स्मृति पार्कमा महेन्द्रको सालिक पनि थियो, छ । नियत सही भए पनि सडक बिचमा बनाइएका यस्ता स्तम्भहरूको परिणाम घातक र पीडादायक साबित भएको छ। केही वर्ष अघि यसरी साँघुरो सडकको बिचमा बनाइएको सालिकमा एक जना पत्रकारको मोटरसाइकल ठोक्किएर घाइते हुनुभएको थियो । एक जना जिविस कर्मचारी पनि यस्तै सडकमा राखिएको स्तम्भमा मोटरसाइकल ठोकिन पुगी मृत्यु भएको थियो।
हिजो असार २५ गते शुक्रवार चाराआली भद्रपुर अन्तर्गत मेची राजमार्गमा राखिएको देवकोटाको सालिकमा बिर्तामोडका युवा व्यवसायी तथा राजनीतिक एवम् सामाजिक व्यक्तित्व ज्ञानुराम प्रसाईँको कार ठक्कर खाइ बीभत्स दुर्घटनामा परि मृत्यु भएको छ।
यसरी एकपछि अर्को गर्दै राष्ट्रिय व्यक्तित्वका नाममा सडक बिचमा सिमेन्टका कङ्क्रिट निर्माण गरी यात्री मार्ने पासो थापेको साबित भएका छन्। प्रकाशपुर नजिक देवकोटा सालिक केही साँघुरिएको र युटर्न सडकमा बनाइको छ। यसअघि पनि यस सालिकमा दुर्घटना भएका छन् । त्यसैको नगिच बनाइएको सार्वजनिक भवन अगाडि पनि सालिक राख्न मिल्ने प्रशस्त ठाउँ नभएको भने होइन। सडकको बिचमा नै सालिक राख्नु पर्छ भनेर कुन इजिओ ले काम गरेको छ मैले गहिरिएर सोच्दा पनि बुझ्न सकिन।
 माथि उल्लेखित सम्पूर्ण मान्यजनमा मेरो बिनम्रतापुर्वक अनुरोध छ यस क्षेत्रका सम्पूर्ण स्तम्भहरूलाई जिल्ला समन्वय समिति भवन अगाडिको महेन्द्र स्मृति पार्कमा स्थानान्तर गरियोस् । सबै राष्ट्रिय ख्याति पाएका ब्याक्तिहरुका स्तम्भ एकै ठाउँमा हेर्न सकियो। यसका लागि बरु टिकटको व्यवस्था गरियोस्।व्यवस्थापन राम्रो बनोस्।
फेरि अर्को व्यक्ति यसरी नै सडक बिचमा राखिएका कङ्क्रिट स्तम्भमा ठोकिएर बीभत्स मृत्यु हुन नपरोस्। राष्ट्रिय व्यक्तित्वका सालिकलाई यात्रीहरू मार्ने कङ्क्रिटको पासो बनाउने कार्यको अब अन्त्य गरियोस् । भैसकेको क्षति त अब फिर्ता गर्न सकिन्न। तर,अब भने बचाउन सकिन्छ। तपाईँको तदारुकतामा यही असार महिना भरमा यो काम गरेर देखाइदिनुहुन पुनः पनि आग्रह गर्दछु। हामी जो जो सडकमा हिँड्छौ (हामी सबै)को लागि यो कल्याणकारी कार्य हुने छ।'

सम्बन्धित समाचार