बिर्तामोड एमाले अध्यक्ष ज्ञानुराम प्रसाईँको कार दुर्घटनामा परी निधन
झापा । नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईँको कार दुर्घटनामा परी निधन भएको छ । बिर्तामोड नगरपालिका- १ निवासी अन्दाजी ४६ प्रसाईँ आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई भद्रपुर नगरपालिका- ९ स्थित देवकोटाको सालिकको कम्पाउन्डमा शुक्रवार बिहान ११ बजेर ४० मिनेटमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी उनको बायाँ खुट्टा र भित्री शरीरमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
उनी बिर्तामोडबाट मेची राजमार्गको चाराआली हुँदै भद्रपुरतर्फ आइरहेका थिए । दुर्घटनामा परेको उनको कारको अगाडीमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । प्रसाईँकी श्रीमती पवित्रा महतारा प्रसाईँ बिर्तामोड नगरपालिकाकी उपमेयर हुन् ।