झापा कारागारका कैदीबन्दीद्धारा सिन्धुपाल्चोकका बाढी पीडित परिवारलाई सहयोग
झापा। सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई झापा जिल्ला कारागार भद्रपुरका कैदीबन्दीले आर्थिक रकम सहयोग गरेको छ । झापाका कैदीबन्दीहरुले एक छाक काटेर जम्मा गरिएको ५१ हजार एक सय रुपैयाँ सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई सहयोग गरेको हो ।
कारागारका आन्तरिक प्रशासन प्रमुख (चौकीदार) शेरबहादुर थेबेले झापा कारागारका प्रमुख राजेन्द्रप्रसाद गौतमलाई सो रकम मङ्गलवार हस्तान्तरण गरेका थिए । सो रकम आजै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको बैङ्क खातामा पठाइदिने कारागार प्रमुख गौतमले जानकारी दिए ।
गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका छवटा बजार तथा मानव बस्तीमा ठुलो धनजनको क्षति पुर्याएको छ । प्राकृतिक प्रकोप र विपत्तिले बर्षोनी नेपालमा ठुलो धनजनको क्षति हुँदै आएको छ । सिन्धुपाल्चोकमा आएको बाढी पहिरोले त्यहाँका पीडित परिवारलाई अहिले देश तथा विदेशबाट सहयोग आइरहेको छ ।
यस्तो अवस्थामा त्यहाँका पीडित परिवारलाई झापाका कैदीबन्दीले पनि थोरै भएपनि केही सहयोग गर्ने उद्देश्यका साथ आर्थिक सङ्कलन गरी रकम पठाएको बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले जानकारी दिए । सरकारले कैदीबन्दीलाई दिनको ६० रुपैयाँ नगद र ७ सय ग्राम चामल दिँदै आएको छ ।
त्यही खर्चबाट कैदीबन्दीले एक छाक कटाएर रकम सङ्कलन गरेको बन्दी विकास पुस्तकालयका सदस्य रमेश पोखरेलले जानकारी दिए । कारागारका कैदीबन्दीले प्राकृतिक प्रकोप र विपत्ति परेकाका पीडित परिवारलाई यसअघि पनि सहयोग गरेका थिए ।