झापाको सानोमाई खोलामा डुबेर एक जनाको मृत्यु
झापा । झापा गाउँपालिकाको सानो माई खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका वडा २ सडकबाडी बस्ने ५१ वर्षीय विष्णुबहादुर लिम्बु रहेका छन् । उनी गाउँमा कलकते नामले परिचित थिए ।सोमबारदेखि बेपता भएका उनी बुधवार सानो माई खोलामा बनेको हुलाकी राजमार्गको पक्की पुलको २०० मिटर दक्षिण मृत अवस्थामा फेला परेका थिए । दिउँसो १२ बजे उनका परिवारजनले कुमरखोद इलाका प्रहरी कार्यालयमा मानिस हराएको निवेदन दर्ता गराएका थिए ।
निवेदन दर्ता भएपछि कुमरखोदका प्रहरी नायव निरीक्षक नारायण प्रधानले सहयोगका लागि टाँघनडुब्बाका विओपी प्रमुख सचिन प्रधानलाई आग्रह गरेका थिए । त्यसपछि संयुक्त प्रहरी टोलीले सानो माई खोलामा खोज्ने क्रममा माई खोलाको बिच भागबाट दिउँसो २ बजे शव निकाल्न सफल भएका थिए । शव भेटिसकेपछि इलाका प्रहरी कार्यालय कुमरखोदले जिल्ला प्रहरी कार्यालय झापामा जानकारी गराएको प्रहरी नायव निरीक्षक प्रधानले बताए । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।