२०८३ असार १ गते , सोमबार

आगोले जलेर ज्यान गुमाएकी बस्नेतका परिवारलाई घर हस्तान्तरण

sajilo news
पार्थ मण्डल
२०७८ असार १८ गते , शुक्रबार
आगोले जलेर ज्यान गुमाएकी बस्नेतका परिवारलाई घर हस्तान्तरण

झापा। दुई वर्षअघि आगोले जलेर ज्यान गुमाएकी कमल गाउँपालिका ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाहरूको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । आगोले जलेर देवीबहादुर बस्नेतकी २२ वर्षीया छोरी कुलमायाको मृत्यु भएपछि पीडित परिवारलाई स्थानीय युवाले घर बनाइदिएका हुन् । उपचारका क्रममा घाइतेको मृत्यु भएपछि घरबारविहीन बस्नेत परिवारलाई स्थायी रुपमा बसोबासको व्यवस्था गर्नका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको सामाजिक अगुवा हुकुमसिंह राईले बताए ।
घर बनाउन राईसहितका मनकारी युवाहरूको समितिले सरसहयोग जुटाएर घर निर्माण गरिदिएको हो । एक तले जस्तापाताले छाएको पक्की घर निर्माणमा ५ लाख ४५ हजार १०० रुपैयाँ खर्च भएको समितिका आर्थिक संयोजक हर्कबहादुर रायले बताए ।
रायका अनुसार बस्नेत परिवार तीन पुस्तादेखि त्यहाँका एक नेपाल परिवारको घरमा घरायसी कामदारका रुपमा बस्दै आएका थिए । खोले पकाउन आगो बालेको चुल्होमा परेर घाइते भएकी कुलमायाको उपचारमा समस्या भएपछि राईको नेतृत्वमा कुलमाया बचाउ अभियान गठन गरिएको थियो । उपचारका क्रममा घाइतेको मृत्यु भएपछि त्यही अभियानलाई घर निर्माण समितिमा रूपान्तरण गरिएको थियो ।
घर निर्माणमा नेपाल परिवारले दश धुर जमिन दिएका थिए भने इँटा,सिमेन्ट,रड लगायतका सामग्री सहयोगबाट नै जुटाइएको थियो । त्यस्तै ,वडा कार्यालयले पनि आवश्यक जस्तापाता सहयोग गरेको थियो भने स्थानीय युवाहरूले श्रमदान गरी सहयोग पुर्‍याएका थिए ।
संयोजक राईका अनुसार कुलमाया बचाउ अभियानका क्रममा घाइतेको उपचारका लागि ३ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

सो रकम समेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत २ लाख १६ हजार ४ सय ६३ रुपैयाँ कुलमायाको परिवारको जीविकोपार्जनका लागि हस्तान्तरण गरिएको थियो ।समितिले शुक्रवार त्यहाँ एक कार्यक्रम गरी बस्नेत परिवारलाई नवनिर्मित घरको साँचो,नगद सहयोगको चेक हस्तान्तरण गरिएको थियो । घर हस्तान्तरण कार्यक्रममा समितिका सन्तोष भण्डारी,तेजु आङदेम्बेलगायत स्थानीय छरछिमेकीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार