सुनसरीमा तीन वटा सवारीसाधन ठोक्किँदा दुर्घटना : तीन जनाको मृत्यु, चार जना घाइते
झापा । सुनसरीमा हायस, पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । दुर्घटनामा पिकअप चालक विराटनगर ७ निवासी अक्षकुमार गुप्ताको स्टेरिङमा च्यापिएर मृत्यु भएको छ। मृतक अन्य दुई जनाको सनाखत हुन सकेको छैन।
त्यस्तै हायस चालक विदुर नगरपालिका ३ नुवाकोटका ३५ वर्षीय विवश तामाङ र सोही स्थान बस्ने सहचालक नारायण बस्याल लगायत अन्य हायसमा सवार दुई जना गरी चार जना घाइते भएका छन् भने सह चालक बस्नेतको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । कोसी गाउँपालिकाको भाम्टावारि र हरिपुर चौक बिचको पूर्वपश्चिम राजमार्गमा
आइतबार बिहान करिब साढे ७ बजे तिर पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायसले विपरीत दिसाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर अर्को पश्चिमबाट आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटना पूर्वबाट जाँदै गरेको हायसको तीव्र गतिको कारण भएको घटनाको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।