२०८३ असार १ गते , सोमबार

बिर्तामोडमा टेन्डर विवाद : विवादित ठेक्का छानबिन गर्न नगरपालिकाद्धारा कार्यदल गठन

sajilo news
पार्थ मण्डल
२०७८ असार १० गते , विहीबार
बिर्तामोडमा टेन्डर विवाद : विवादित ठेक्का छानबिन गर्न नगरपालिकाद्धारा कार्यदल गठन

झापा। निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्‍याई ठेक्का लगाएको भन्दै त्यस्तो ठेक्का खारेज गर्नुपर्ने मागसहित स्थानीय आन्दोलित भएपछि छानबिनका लागि बिर्तामोड नगरपालिकाले कार्यदल बनाएको छ ।  बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख पवित्रा महतारा प्रसाईँको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । जसको सदस्यहरूमा वडा नं २ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौला र वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौला रहेका छन् ।

हिजो दिउँसो बसेको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीसहित आम जनप्रतिनिधिहरूको भेलाले स्थानीय स्तरबाट विरोध आएको ठेक्काको छानबिन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलले दुई साताभित्र प्रतिवेदन बुझाउने छ । निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्‍याई ठेक्का लगाइएका स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज गरिनुपर्ने मागसहित स्थानीय आन्दोलित छन् । विज्ञको सहायताले ठेक्का प्रक्रिया नियमसंगत भए–नभएको छानबिन गरिने कार्यदलका सदस्य वडा नं २ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले बताए । ‘टेन्डरमा हिनामिना गरेको छ कि छैन हामी त्यो खोज्छौँ’ उनले भने ,‘टेन्डर हाल्दा रकम तलमाथि भएको पाइएमा टेन्डर खारेज गर्न सिफारिस गर्छौ ।’ बिर्तामोड नगरपालिकाको सातौँ नगर परिषद आजबाट सुरु हुँदैछ ।

नगरपरिषदको अघिल्लो दिन हिजो पत्रकार सम्मेलन गर्दै स्थानीय जागरूक युवाहरूले नगरपरिषदमा आफ्ना माग प्रस्तुत गर्ने जनाउँदै ती माग सम्बोधन नभए परिषद् चल्न नदिने बताएका थिए । उनीहरूले स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज हुनुपर्ने , सार्वजनिक सरोकार र महत्त्वका हरेक सूचनाको जानकारी सम्पूर्ण वडा कार्यालय ,सञ्चारमाध्यमलाई गराउनुपर्ने ,नगरपालिकाका प्रत्येक सूचना नगरपालिका र वडा कार्यालयको सूचना पाटीमा अनिवार्य राख्नुपर्ने ,नगरपालिकाले प्रकाशन र प्रसारण गर्ने सार्वजनिक महत्त्वका सम्पूर्ण सूचनाहरू स्थानीय सञ्चारमाध्यममा समेत प्रकाशन र प्रसारण गरिनुपर्ने लगायतका सूचना अधिकारका कुराहरू उठाएका छन् ।

सम्बन्धित समाचार