अर्जुनधाराकी खिनमायाको घरमा निर्माण खटिए १२ जना नेपाली सेना
झापा। झापा अर्जुनधारा नगरपालिका–५ की खिनमाया पौडेलको घर निर्माण कार्य सुरु भएको छ । अति विपन्न खिनमायाको अवस्थाबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएको ४८ घण्टा भित्र विभिन्न दाताहरूबाट निर्माण सामग्री उपलब्ध भएपछि मङ्गलवारदेखि उनको घर निर्माण कार्य सुरु भएको हो ।
जीवनभर दुःखमै आफ्ना सम्पूर्ण इच्छा चाहनालाई दबाएर बाच्नकै लागि सङ्घर्ष गर्दै आएकी खिनमायाको घर निर्माणमा नेपाली सेना चारआली स्थित श्री श्रीनाथ गणमा कार्यरत डकर्मी, सिकर्मीकलामा पोख्त १२ जना सेनाले श्रमदान गर्न थालेका छन् । खिनमायाको लागि सुरक्षित बास स्थान तयार पार्न सामाजिक व्यक्तिहरूले तन, मन, धन र कर्मले सहयोग पुर्याएका छन् । त्यस्तै अर्जुनधारा निवासी युवा समाजसेवी मिक्की कार्कीको समन्वयनमा श्री श्रीनाथ गणका गणपति अमर जङ्ग थापा समक्ष श्रमदानको लागि आग्रह भएपछि मङ्गलवार बिहान नै गणपति थापाले खिनमायाको घरमा आएर कामको बारेमा बुझेका थिए । त्यहाँबाट फर्किए लगतै १२ जना कामदार सेनाहरू पठाइदिए पछि निर्माण कार्य सुरु भएको घर निर्माण समन्वयन समितिका संयोजक ओमप्रकाश लुइँटेलले जानकारी दिए ।
संयोजक लुइँटेलका अनुसार निर्माणको लागि सिमेन्ट, ब्लक, बालुवा, काठ उपलब्ध भए पनि अन्य निर्माणमा आवश्यक पर्ने सामाग्री खरिद गर्न रकमको अभाव छ । सानो सानो रकम सहयोग गरिदिन दाताहरूलाई उनले आग्रह समेत गरेका छन् । उनले भने ‘मेरो ९८५२६७१५८४ मा फोन गर्नुहोस्, म अर्जुनधारा, बिर्तामोड र कनकाई क्षेत्रभित्र आफ्नै साधन प्रयोग गरेर तपाईँले दिने सहयोग रकम लिन आउँछु’ हामी सबैले समाज सेवाका काम धेरै गर्यौँ तर खिनमायाको घर निर्माणमा गरेको सहयोग वास्तविक सहयोग महसुस हुने छ ।’ केही दिन भित्रमै निर्माण कार्य सम्पन्न हुने छ । सेनाले होलो ब्लक जोड्ने, प्लास्टर गर्ने, झ्याल, ठोका लगायत सम्पूर्ण काममा श्रमदान गर्ने गणपति थापाले जानकारी दिए ।