२०८३ जेष्ठ ३१ गते , आईतबार

विद्यालय पोशाकमै विद्यार्थीलाई रक्सी बेच्ने बिर्तामोडका होटेल सञ्चालक पक्राउ

sajilo news
झापा
२०८१ फाल्गुन २३ गते , शुक्रबार
विद्यालय पोशाकमै विद्यार्थीलाई रक्सी बेच्ने बिर्तामोडका होटेल सञ्चालक पक्राउ

बिर्तामोडको एक विद्यालयका विद्यार्थीहरूलाई रक्सी बेच्ने होटेल साहुलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान १० बजे विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीन जना छात्र र तीनजना छात्रालाई ब्रदर होटेलका सञ्चालक बिर्तामोड- ३ बस्ने ४६ वर्षीय कुमार बस्नेतले मादक पदार्थ बिक्री गरेका थिए । मातेर एक जना विद्यार्थी सिकिस्त अवस्थामा पुगेका थिए । सो विद्यालयका एक शिक्षकका अनुसार लगातार बान्ता गरिरहेका ती विद्यार्थीलाई होटेलबाट अटोमा हालेर ल्याउनु परेको थियो ।

विद्यालय परिवारले ती विद्यार्थीका अभिभावकलाई बोलाएर जिम्मा दिएको थियो भने घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो । विद्यालयका शिक्षकमार्फत इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी टोली खटिएर विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटेल साहु बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

अभिभावकको जाहेरीका आधारमा अभद्र व्यवहार शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए । आज पनि सोही विद्यालयका तीन जना विद्यार्थी गाँजासहित पक्राउ परेको जनाइएको छ ।

सम्बन्धित समाचार