२०८३ असार ३ गते , बुधबार
समृद्धि-सनसाईन सहकारीद्वारा पत्रकार घिमिरेसहित दर्जनौँ सम्मानित
भद्रपुर । सदरमुकाम भद्रपुरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न क्षेत्रमा सेवा केन्द्र मार्फत सञ्चालित समृद्धि-सनसाईन बचत तथा ऋण सहकारी संस्थाले एक पत्रकारसहित दर्जनौँ व्यक्तिलाई सम्मान गरेको छ ।
भद्रपुरमा शनिवार आयोजित संस्थाको एकीकृत आठौँ वार्षिक साधारण सभामा समृद्धि सनसाइन पत्रकारिता पुरस्कारबाट लोकतन्त्र पोस्टका भद्रपुर समाचारदाता रेवतीराज घिमिरेलाई नगदसहित पुरस्कृत गरिएको छ ।
पत्रकार घिमिरे विगत १० वर्ष भद्रपुरको चन्द्रगढी क्षेत्रमा पत्रकारिता पेसामा सक्रिय रहेका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद ओमप्रकाश सरावगी तथा समृद्धि सनसाईन सहकारी संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले संयुक्त रुपमा नगदसहित सम्मान पत्रले सम्मान गरेका थिए ।
त्यस्तै कार्यक्रममा संस्थाले उत्कृष्ट कर्मचारीतर्फ भीमबहादुर बस्नेत, इन्द्रकला विष्ट, होमबहादुर कार्कीलाई पुरस्कृत गरेका थिए । साथै संस्थाले पूर्व सञ्चालक समितिका पदाधिकारी लगायत दर्जन बढीलाई कदर पत्र प्रदान गरेका थिए । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरावगी ,प्रमुख व्यवस्थापक राजेन्द्रप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए । जुनेश राउतले सञ्चालन गरेको कार्यक्रमको स्वागत उत्तमकुमार श्रेष्ठले गरेका थिए ।
भद्रपुर- ५ स्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था र भद्रपुर- १० स्थित सनसाईन बचत तथा ऋण सहकारी संस्थाबिच ११ महिनाअघि एकीकरण भई पहिलो पटक एकीकृत सधारणसभा गरिएको हो । संस्थामा कुल शेयर सदस्य सङ्ख्या ४ हजार ३ सय १० रहेको छ । कुल शेयर पुँजी २ करोड ३२ लाख १९ हजार ७ सय रहेको जनाइएको छ ।
समृद्धि सनसाईन सहकारीले भद्रपुरको दुई स्थान, हल्दीवारी, बिर्तामोड, चारआली गरी ५ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।