२०८३ असार ३ गते , बुधबार

झापामा ग्यास सिलिन्डर विस्फोट : एकको मृत्यु , १२ जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ पौष २२ गते , विहीबार
झापामा ग्यास सिलिन्डर विस्फोट : एकको मृत्यु , १२ जना घाइते

झापा । घरमा आगलागी भई ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ ।  विस्फोटमा परी १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका- ७ पिपल चोकस्थित केशव पाठकको टिनको छानो र चित्राको बेरा लगाएको एक तले घरमा बुधवार राती ९ बजेर २० मिनेटमा आगलागी भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए । उक्त घरमा रामेछाप जिल्ला घर भई हाल मेचीनगरमा भाडामा बस्दै आएको कुमार पाण्डे भाडामा बस्दै आएका थिए । आगलागी भएपछि स्थानीयवासी आगो निभाउने पुगेका थिए । 

सोही क्रममा कोठाभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा मेचीनगर- ८ निवासी ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए । उनलाई उपचारका लागि एन्जल मेडिकल धुलाबारीमा पुर्‍याए लगतै मृत्यु भएको थियो । त्यस्तै विस्फोटमा परी बस्ने मेचीनगर- ७ निवासी ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड- ९ निवासी २९ वर्षीय गोविन्द प्रसाद राजवंशीलाई, मेचीनगर -७ निवासी बस्ने ३२ वर्षीय दीपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानी शङ्कर न्यौपाने, मेचीनगर- ८ निवासी ३४ वर्षीय हरि विक, सोही ठाउँका अर्जुन अधिकारीको ८ बर्षीया छोरी सुशीला अधिकारी र  मेचीनगर ७ निवासी ३६ वर्षीय निर्मल शर्मा घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता घरमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको र भौतिक क्षति विवरण आई नसकेको डिएसपी दाहालले बताए । 

सम्बन्धित समाचार