२०८३ असार ३ गते , बुधबार

पिता-माताको स्मृतिमा प्रहरी कार्यालय गौरादहमा प्रतीक्षालय स्थापना

sajilo news
पार्थ मण्डल
२०७८ पौष १४ गते , बुधबार
पिता-माताको स्मृतिमा प्रहरी कार्यालय गौरादहमा प्रतीक्षालय स्थापना

भद्रपुर ।  झापाको गौरादहस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा आगन्तुक प्रतीक्षालय निर्माण गरिएको छ । स्थानीय समाजसेवी कर्णबहादुर कटुवाल र सुषमा कटुवालले आफ्ना स्वर्गीय प्रीतिहरूको स्मृतिमा प्रतीक्षालय निर्माण गरिदिएका हुन् ।  समाजसेवी कटुवालले आफ्ना स्व। बुबा खड्गबहादुर र स्व।आमा बालुकादेवी कटुवालको स्मृतिमा प्रहरी कार्यालय परिसरमा प्रतीक्षालय निर्माण गरिदिएको प्रहरीले जनाएको छ ।

एक समारोहका बिच प्रमुख अतिथि झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल तथा निर्माणकर्ता कटुवाल परिवारले रिबन काटेर संयुक्त रुपमा प्रतीक्षालय उद्घाटन गरेको स्व। कटुवालका नाति भूपालराज कटुवालले जानकारी दिए ।  समाजसेवी एवम् राजनीतिज्ञ भूपालराजका अनुसार स्व। हजुरबुबा  र हजुरआमाको स्मृतिलाई सदैव स्मरण गर्न आफ्ना बुबाले प्रतीक्षालय निर्माण गरेको जानकारी दिए । 

प्रहरी कार्यालयमा आउने आगन्तुकले प्रतीक्षालय नहुँदा समस्या भोगेको नजिकबाट देखेसँगै आफ्नो परिवारले प्रतीक्षालय निर्माण गर्न सहयोग गरेको नातिनी बुहारी विनीता कटुवालले बताइन् । 

कटुवाल परिवारले प्रतीक्षालय निर्माणमा ५ लाख ८५ हजार ४१३ रुपैयाँ खर्च गरेको छ ।  समारोहमा उपप्रमुख भेटवालसहित गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, २ नम्बर वडाध्यक्ष हेमन्त कार्की, नेपाली काँग्रेसका नगर सभापति यादवराज सेडाई, क्षेत्र ५ क सभापति जीवन राई, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की, इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी सहायक निरीक्षक रमेश वनलगायतले कटुवाल परिवारले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए । 

१ नं वडाध्यक्ष नगेन्द्र भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्थानीय देवेन्द्र खड्काले गरेका थिए । चौकीका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार