२०८३ असार ३ गते , बुधबार

झापाका सीमामा हुने आपराधिक गतिविधिमाथि निगरानी बढाउन आइजिपी क्षेत्रीले दिए निर्देशन

sajilo news
पार्थ मण्डल
२०७८ पौष १३ गते , मंगलबार
झापाका सीमामा हुने आपराधिक गतिविधिमाथि निगरानी बढाउन आइजिपी क्षेत्रीले दिए निर्देशन

झापा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले झापा जिल्लाका सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाउनका साथै सुरक्षा व्यवस्था मजबुत बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइजिपी भएपछि पहिलो पटक मङ्गलवार झापा आएका क्षेत्रीले जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणको क्रममा प्रहरी अधिकृत तथा जवानहरूलाई यस्तो निर्देशन दिएका हुन् । भारतसँग जोडिएको खुल्ला सिमानाका कारण जिल्लामा हुने विभिन्न आपराधिक गतिविधिहरूलाई निस्तेज गर्न अहोरात्र प्रहरी तैनाथ रहनु पर्नेमा आइजिपी थापाले जोड दिएका छन् । 


खुल्ला सीमाका कारण नाका हुने अपहरण, विस्फोटक पदार्थको ओसारपसार, मानव बेचबिखन, हातहतियार ओसारपसार, जाली नोटको कारोबार, लागू औषध ओसारपसार, भन्सार छली गरी चोरी निकासी जस्ता आपराधिक गतिविधिहरू झापा जिल्लामा हुने गरेकोले त्यसतर्फ कडा निगरानी बढाउनु पर्नेमा उनले बताए । 


प्रहरी कर्मचारीहरूले प्रहरी आचार संहिताको पूर्ण रुपमा पालना गर्न, शून्य सहनशीलताको नीति अपनाउन र आम नागरिक तथा सेवाग्राहीहरूलाई विनम्रताका साथ सभ्य र शिष्ट बोली वचन प्रयोग गरी बिना झन्झट प्रहरी सेवा प्रदान गरी प्रहरी सङ्गठन र कार्यरत कार्यालयको गरिमा बढाउने गरी उच्च नैतिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्न समेत उनले निर्देशन दिएका छन् । झापामा जिल्लामा एसपीको जिम्मेवारी निर्वाह गरी सकेका आइजिपी क्षेत्री पहिलो पटक झापा आउँदा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको स्थलगत निरीक्षण  गरेका थिए । 

सम्बन्धित समाचार