२०८३ असार ३ गते , बुधबार

बिर्तामोड नगरपालिका र सहाराबीच कृषि, शिक्षा क्षेत्रको साझेदारीमा सम्झौता

sajilo news
पार्थ मण्डल
२०७८ पौष १३ गते , मंगलबार
बिर्तामोड नगरपालिका र सहाराबीच कृषि, शिक्षा क्षेत्रको साझेदारीमा सम्झौता

झापा । बिर्तामोड नगरपालिका र सहारा नेपालबीच कृषि, शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि सम्झौता भएको छ । मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख धु्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना, शिक्षा अधिकृत दिनेश प्रसाद आचार्य,कृषि शाखा प्रमुख राजेन्द्र कडरिया,पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल,जनप्रतिनिध सुरेन राजवंशी, सहारा नेपालका सहसचिव ज्ञानुनाथ मैनाली र सञ्चालक समिति सदस्य शंकर रिजालको उपस्थितिमा सम्झौतामा भएको हो ।

सम्झौतामा नगरप्रमुख शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी र सहसचिव ज्ञानुनाथ मैनालीको हस्ताक्षर रहेको छ ।

शिक्षा तर्फ बालमैत्री,पुर्ण सरसफाई एवं प्रविधिमैत्री सिकाईको सिर्जना आचरणयुक्त तथा जीवनोपयोगी शिक्षाको परिकल्पना शिर्षकको सम्झौतामा बिर्तामोड नगरपालिकाको २८ लाख ४० हजार रुपैयाँ र सहारा नेपालको १०लाख रुपैयाँ गरि ३८ लाख ४० हजार रुपैयाँको लागत साझेदारीमा शैक्षिक विकासका कार्यक्रमहरु हुने उल्लेख गरिएको छ । कार्यक्रमहरुमा आधारभुत तह कक्षा १ देखि ५ सम्म प्रविधिमैत्री कक्षा व्यवस्थापन,प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम लगायत छन् ।

यस्तै, कृषि तर्फ पूर्वाधारयुक्त नगर,विषादी रहित कृषि र व्यवसायको अभिवृद्वि,सभ्य र स्वस्थ नागरिक,बिर्तामोड नरपालिकाको समृद्वि शिर्षकको सम्झौतामा साझेदारीमा बिर्तामोड नगरक्षेत्रभित्र कृषि र पशु उत्पादनका क्षेत्रमा काम गर्ने उल्लेख गरिएको छ । यस कार्यक्रमका लागि बिर्तामोड नगरपालिकाको २० लाख र सहारा नेपालको २० लाख रुपैयाँ गरि जम्मा ४० लाख रुपैयाँको लागतमा साना सिचाई कार्यक्रम अन्तर्गत मोटर बोरिङ्ग वितरण गरिने छ ।

यस्तै बिर्तामोड नगरपालिकाको २५ लाख र सहारा नेपालको २५ लाख गरि ५० लाख रुपैयाँमा पशु विकास सम्बन्धि मासु पसल सुधार,गाईको भकारो तथा गोठ सुधार, बाख्राको भकारो तथा गोठ सुधार,बंगुरको भकारो तथा गोठ सुधार र कुटी काट्ने मेशिन च्याप कटर वितरण गर्ने कार्यक्रम छ । यस सम्झौताको अवधि २०७९ साल असार मसान्त सम्म रहेको जनाईएको छ ।

बिर्तामोड नगरपालिका र सहारा नेपालबीच विगत ३ वर्ष देखि विपन्न आवास,शिक्षा र कृषिको क्षेत्रमा साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । सहारा नेपालको केन्द्रीय कार्यालय बिर्तामोडमा नै रहेको हुनाले अन्य पालिकाहरुमा भन्दा बिर्तामोड नगरपालिकालाई नै बढी कार्यक्रममा लक्षित गर्दै आएको सहारा नेपालका सहसचिव ज्ञानुनाथ मैनालीले जानकारी दिए ।

सम्बन्धित समाचार