भद्रपुरमा तस्करी धन्दा : एसएसबीद्धारा मेची पुल नजिकैबाट १० पोका कपडा बरामद
झापा । पछिल्लो समयमा भद्रपुर सीमा नाकाबाट भन्सार छलेर लत्ताकपडा तस्करीको माध्यमबाट धमाधम नेपाल भित्रिरहेको छ । भद्रपुर भन्सार कार्यालयका प्रमुखसहित चारजना कर्मचारीविरुद्ध राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्न सहयोग गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।
भन्सार प्रमुखसहित कर्मचारीविरुद्ध मुद्दा दायर भएपछि हाल भन्सारमा कार्यरत कर्मचारीले भन्सारमा आउने सरसामान चेकजाँचमा कडाइ गरी सरकारले तोकेर अनुसारको राजश्व असुल्न थालेपछि लत्ताकपडा भित्राउन यहाँका कारोबारी र व्यापारीले तस्करीको माध्यमबाट सरसामान भित्राउन थालेका हुन् ।
सीमामा तैनाथ सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोमा उनीहरूले तस्करी धन्दा चलाइरहेको बेला भारतीय एसएसबीले बिहीबार मध्यरातमा करिब ४ लाख भारतीय रुपैयाँ मूल्य बराबरको लत्ताकपडा भद्रपुर सीमा नाकाबाट बरामद गरेको छ । एसएसबी ४१ बटालियन भातगाँउबाट खटिएको टोलीले भद्रपुर- ५ स्थित मेची पुल उत्तर सीमा पिलर १०१/१० नजिकैबाट १० पोका लत्ताकपडा बरामद गरेको भारतीय एसएसबीले जानकारी दिएको छ ।
पाँच पोकालाई फुटाएर १० पोका बनाएका थिए । ती पोकाहरूलाई तस्करीको माध्यमबाट लाइनमेनहरुले टाउको बोकेर देवीवस्ती नाकाबाट भित्राउन खोजेका थिए । तर, उनीहरूको योजना भारतीय एसएबसीले विफल बनाइदिएको छ । बरामद गरिएको कपडामा रेडिमेड, थान र सटिङ्गसुटिङ्ग रहेको एसएसबीले जनाएको छ ।
बरामद गरिएको कपडालाई बिहीबार दिउँसो भन्सार बुझाइसकेको जनाइएको छ । यता जिल्लाका सीमा नाकाहरूबाट तस्करी गतिविधि मौलाए पनि सम्बन्धी निकायले खासै चासो नदेखाउँदा भन्सारको राजश्वमा भारी गिरावट आएको कर्मचारीहरू बताउँछन् । ‘भन्सार खुकुलो अर्थात् सेटिङ्ग हुँदा कारोबारी र व्यापारीले ठुलो परिणामको लत्ताकपडा दिनहुँ भन्सार ल्याउने गर्थ्यो,’ एक कारोबारीले भने, ‘तर अहिले भन्सार कर्मचारी आफै विवाद परेपछि कडाइ गर्न थाल्दा प्रायः सबै तस्करीको माध्यमबाट लत्ताकपडा भित्राउन खुलेर लागि परेको छ ।’