२०८३ असार ३ गते , बुधबार

झापामा मनाइयो अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस

sajilo news
पार्थ मण्डल
२०७८ पौष ३ गते , शनिबार
झापामा मनाइयो अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस
झापा ।  झापामा २२ औं अन्तर्राष्ट्रिय कामदार दिव रचनात्मक कार्यक्रमका साथ मनाइएको छ । यस अवसरमा झापाको बिर्तामोडमा सरोकारवालाहरूबिच अन्तरक्रिया गरिएको  छ ।
झापामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रको आयोजनामा आज भएको अन्तरक्रिया कार्यक्रममा मुख्य रुपमा खाडी मुलुकहरूमा रोजगारीमा जाने नेपाली युवाहरूले भोग्दै आएका समस्या तथा वैदेशिक रोजगारीमा जानु पूर्व अपनाउनुपर्ने सावधानीहरूका बारे चर्चा गरिएको थियो ।
परियोजना संयोजक फणीन्द्रप्रसाद दाहालले अन्तर्राष्ट्रिय आप्रवासन दिवस बारे जानकारी गराउँदै नेपालमा यो क्षेत्रमा रहेका नकारात्मक र सकारात्मक पक्ष बारे जानकारी गराउँदै यसमा रहेका नकारात्मक पक्षलाई न्यूनीकरण गर्न सुरक्षित आप्रवासन परियोजनाले गर्दै गरेका कार्यबारे जानकारी गराएका थिए भने मेची क्याम्पसका सह–प्राध्यापक विनोद गौतमले नेपालमा वैदेशिक रोजगारीको ऐतिहासिकता, यसका अन्तर्निहित पक्षको विश्लेषण गर्दै वैदेशिक रोजगारीमा जान चाहनेले सीप तथा वित्तीय साक्षरताको ज्ञान लिनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख तथा स्थानीय तह परियोजना व्यवस्थापन समितिका संयोजक जीवनकुमार श्रेष्ठले सामी परियोजनाले वैदेशिक रोजगारमा देखिएका विकृति न्यूनीकरण गर्न उल्लेख्य भूमिका खेल्दै आएको बताए ।
कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन परियोजनाबिचको सहकार्य र यसको प्रभावकारिता बारे चर्चा गर्दै टोल टोलसम्म सूचना पुर्‍याउन आवश्यक रहेको बताए ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीसमेतको सहभागिता रहेको कार्यक्रम केन्द्रका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षता र सचिव रुद्र सिटौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सुरक्षित आप्रवासन परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय परियोजना हो । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तहहरूको कार्यान्वयनमा ३९ जिल्लाका १५६ स्थानीय तहमा सञ्चालित यो परियोजना झापाको  भद्रपुर, मेचीनगर, दमक नगरपालिका र गौरीगंज गाउँपालिकामा प्रत्यक्ष रूपमा सञ्चालित छ भने विराट सामुदायिक अध्ययन केन्द्रले सहजीकरण गरिरहेको यो परियोजनालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ । 
यो परियोजना सञ्चालन भएपछि झापामा १२७२० जनालाई परामर्श प्रदान गरिएको छ भने ठगीका १२९ घटनाको उजुरी प्राप्त भएको र ७६ जनालाई रकम फिर्ता गराइएको संयोजक दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार