२०८३ असार ३ गते , बुधबार

बेल्ला मोटर्सबाट ठगिए झापाका सर्वसाधारण

sajilo news
पार्थ मण्डल
२०७८ पौष ३ गते , शनिबार
बेल्ला मोटर्सबाट ठगिए झापाका सर्वसाधारण

झापा । झापाको बिर्तामोडबाट बेल्ला मोटर्स खरिद गरेका व्यक्ति ठगिएका छन् । बिर्तामोड– १ मा रहेको आरती बुद्ध अटो मोवाइल्सबाट ढुवानीका लागि खरिद गरेको बेल्ला मोटर्समा अनेकौ समस्या देखा परेपछि खरिदकर्ताहरु ठगिएको भन्दै पैसा फिर्ता गर्न आग्रह गरेका छन् । उनीहरुले विक्रेताले भने अनुसार गाडि नभएको भन्दै तत्काल रकम फिर्ताको माग गरेका हुन् ।

बुद्धशान्ती–३ का दिपक भट्टराई, बिर्तामोड ३ का आस्मुदिन खान, दिलिप दास र बाह्रदशी–५ का रासिद खानले बिर्तामोडस्थित आरती बुद्ध अटो मोवाइल्सबाट बेल्ला माटर्स खरिद गरेका थिए । उनीहरुलाई प्रति लिटर ३५ किलोमिटर माइलेज कुदाउन सकिने विक्रेताले भने पनि अधिकतम ७ देखि १० किलोमिटर मात्रै कुदाउन सकिएको पीडितहरुको भनाई छ । भनेजति माइलेज नभएको, अस्वभाविक रुपमा इन्जिन तातिएको र पानी चुहिने समस्याले खरिदकर्ता हैरान भएका छन् ।

बिर्तामोडमा आस्मुदिन खानले खरिद गरेको २ महिना मै पानी चुहिने समस्या आएपछि सोरुममा समस्या सुनाएका थिए । सोरुमले बनाइदिने भने अनुसार तत्कालका लागि बनाए पनि पानी चुहिने समस्या हल नभएको खानको भनाई छ । उनका अनुसार पटक–पटक बनाउदा पनि समस्या हल नभएकाले गाडि नै सोरुमलाई बुझाएका छन् । ८ महिनादेखि सोरुममा गाडि बुझाएका खानले नत नयाँ गाडि पाएका छन्, नत पैसा नै फिर्ता पाएका छन् । उनले गाडि राखेर पैसा फिर्ता दिन भनेको ८ महिना वितिसकेको छ । महिनौं वितिसक्दा समेत कुनै समाधान नपाएपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीमा उजुरी गरेपछि एक हप्ताभित्र समाधान खोज्ने सहमति भएको थियो । पीडितहरुका अनुसार सो सहमति समेत कार्यान्वयन भएको छैन । पीडितहरुले अब गाडि लैजान नसक्ने भन्दै पैसा वा पैसा नभए अटो खरिद गरेर हिसाव मिलाउन विकल्प दिएका छन् । बेल्ला मोटर्सका विक्रेता टिका ओडारीले पटक–पटक समस्या समाधानका लागि आश्वासन दिए पनि भेट नदिएको पीडितहरुको गुनासो छ ।

३०० सीसीको बेल्ला मोटर्स उनीहरुले ६ लाख ४२ हजारका दरले खरिद गरेका थिए । सबैले ऋणबाट खरिद गरेकाले त्यसको साँवा–व्याज तिर्न अप्ठ्यारो भइरहेको जानकारी दिएका छन् । खानले बिर्तामोडको कर्णालीबाट धितो राखेर कर्जा लिएका थिए । पहिलो २ महिनादेखि कर्जाको कुनै किस्ता बुझाउन नसकेको खानको भनाई छ । उनी भन्छन्, गाडि नै चलाउन नपाए पछि कसरी किस्ता तिर्नु रु कमशल गाडिलाई राम्रो भन्दै झुक्याएर विक्रि गरेको पीडितहरुको आरोप छ ।

सोरुमका सेल्स म्यानेजर विवेक निरौलाले कम्पनीलाई समस्या बारे पटक–पटक जानकारी गराइएको बताए । उनका अनुसार माथिबाट कुनै पनि सुनुवाई हुने छाँटकाँट छैन । यता, आरती बुद्ध अटो मोवाइल्सका सञ्चालक टिका ओडारीले कम्पनीको विश्वासमा गाडि विक्रि गरेको जानकारी दिए । उनले कम्पनीले बताए अनुसारकै विशेषता बताएर विक्रि गरेको स्वीकार गरेका छन् । हामीलाई जे बताइएको थियो, त्यै भनेर बेचेकै हो– ओडारी भन्छन् । शुरुआतमा साना समस्या आउँदा आफै समाधान गरेको उनको भनाई । ओडारीका अनुसार पछिल्लो समय ठुलो समस्या आएपछि कम्पनीलाई नै जानकारी गराइएको छ । खरिदकर्ताले दवाव दिएपछि ओडारीले कम्पनीका प्रतिनिधि बोलाएर इलाका प्रहरी कार्यालय अनारमनीमा एक हप्ताभित्र समस्या समाधान गर्ने सहमति समेत गराएका थिए । तर, सहमति अनुसारको समय समेत सकिएको छ ।

बेल्ला मोटर्सलाई ओडारीले बुझाउनु पर्ने रकम नबुझाएका कारण समाधानमा चासो नदिएको बुझिएको छ । ओडारीलाई पैसा किन नबुझाएको भन्ने प्रश्न गर्दा उनले भने, – ‘गाडि बेच्दै पैसा दिने सहमति भएको थियो । गाडिमा समस्या आइरहेको अवस्थमा कसरी पैसा बुझाउनु रु पैसा बुझाएपछि पीडितको सुनुवाई नहुने संभावना हुन्छ, त्यसैले ५र६ लाख बुझाएको छैन ।’ कम्पनीका मालिक किशानध्वज कार्कीले पछिल्लो समय फोन समेत नउठाएको ओडारीको भनाई छ ।

सम्बन्धित समाचार