२०८३ असार ३ गते , बुधबार

बालमैत्री नगर घोषणाको अवसरमा भद्रपुरमा सांस्कृतिक कार्यक्रम

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २६ गते , आईतबार
बालमैत्री नगर घोषणाको अवसरमा भद्रपुरमा सांस्कृतिक कार्यक्रम
भद्रपुर । ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने  साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको सन्दर्भ पारेर सप्ताहव्यापी विविध रचनात्मक कार्यक्रम तय गरेको छ ।
आगामी पुस ७ गते मनाउन लागिएको दिवसको सन्दर्भ पारेर बालबालिकाकै सहभागितामा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भद्रपुर- ८ स्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रमको हलमा नगरभित्रका अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता गरिएको हो ।
भद्रपुर नगरपालिका प्रमुख तथा बालमैत्री स्थानीय शासनयुक्त नगर समितिका संयोजक नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित प्रतियोगितामा १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए ।
सहभागी विद्यालयमध्ये आधारभूततर्फ वीरेन्द्र माध्यमिक विद्यालय प्रथम, हिमाली माध्यमिक विद्यालय दोस्रो र सीता आधारभूत विद्यालय तेस्रो भएका थिए भने माध्यमिकतर्फ सगरमाथा माध्यमिक विद्यालय प्रथम, प्रज्ञा एकेडेमी दोस्रो र हिमाली माध्यमिक विद्यालय तेस्रो भएका थिए । विजयी विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा भद्रपुर नगरपालिकाका नृत्य प्रशिक्षक कृति राई र रोमन जोगी थिए ।
नगर बाल सञ्जाल भद्रपुरकी उपाध्यक्ष आरोग्य तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्जालकी अध्यक्ष भावना पोखरेल र सचिव दिव्या काफ्लेले संयुक्त रुपमा गरेका थिए भने शिक्षा शाखा प्रमुख प्रेम भुजेल, नगरपालिकाका बालमैत्री फोकल पर्सन टिकाराम पाण्डे (दीपक), वीरेन्द्र माविका प्रधानाध्यापक खिलराज कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार