फोजिन झापाको अध्यक्षमा खम्बुले उम्मेदवारी दिने तयारी
झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा पत्रकार अमित खम्बुले उम्मेदवारी दिने भएका छन् । मंसीर २५ गते हुने फोनिज झापाको छैटौँ अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने पत्रकार खम्बुले बताएका छन् ।
लामो समयसम्म विभिन्न सञ्चार माध्यममा काम गरिसकेका खम्बुले फोजिन झापालाई थप चलायमान बनाउँदै लैजाने बताएका छन् । फोनिज झापाको हालसम्म आफ्नो छुट्टै भवन नभएको र जमिनको समेत व्यवस्था नभएकाले आफू अध्यक्षमा निर्वाचित भए लगत्तै भवन निर्माणका लागि जमिन व्यवस्थापन गर्ने सहितका महत्त्वपूर्ण सात वटा कार्य योजना अघि सारेका छन् ।
फोनिज झापाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पुरस्कार र उदयमान पत्रकारिता पुरस्कारको अक्षयकोषको रकम वृद्धि गर्दै दुवै पुरस्कारलाई थप व्यवस्थित बनाउने कार्य योजना अघि सारेका छन् ।
फोनिजमा आबद्ध पत्रकार सदस्यको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार कोष स्थापना गर्ने उनको अर्को महत्त्वपूर्ण कार्य योजना गहेको छ । यो सँगै सदस्यहरूको क्षमता अभिवृद्धि लागि विषयगत तालिम सञ्चालन गर्दै लाने र खोजमूलक समाचार लेखनमा प्राथमिकता दिने उनको घोषणा पत्रमा उल्लेख छ ।
पत्रकार जन्य सङ्घ सङ्गठनहरूसँग सहकार्य गर्दै फोनिजका हरेक गतिविधिलाई चलायमान बनाउने र सदस्यता विस्तारलाई समेत अघि बढाउने उनको घोषणा पत्रमा उल्लेख छ ।
फोनिजमा आबद्ध पत्रकार सदस्यहरूलाई ठुला तथा राष्ट्रिय स्तरका सञ्चार गृहमा आबद्ध गराउन पहल गर्ने र उनीहरूको नेतृत्व विकासका लागि सबै खाले भूमिका निर्वाह गर्ने योजना अघि सारेका छन् ।
को हुन् खम्बु
२०६५ सालबाट पत्रकारिता सुरु गरेका अमित कुमार साम्पाङ राई झापाका जुझारु युवा पत्रकारका रुपमा स्थापित छन् । तत्कालीन समयमा बिर्तामोडबाट प्रकाशित हुने यलम्वर साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका खम्बु हाल पूर्वाञ्चल दैनिकमा आबद्ध छन् । २०६८ सालबाट पूर्वाञ्चलमा आबद्ध हुँदै निरन्तर खोज मूलक तथा समहामहिक विषयमा लेख्न रुचाउँछन् ।
२०४३ साल फागुन २८ गते आमा निर्मलादेवी र बुबा रामकुमार साम्पाङ राईको ज्येष्ठ पुत्र रत्नका रुपमा जन्मिएका उनले स्नातक सम्मको अध्ययन पूरा गरेका छन् । सानै उमेरदेखि सञ्चार क्षेत्रमा रुचि राख्ने खम्बु मिलनसार र सहयोगी पत्रकारका रुपमा झापाली पत्रकार माझ परिचित छन् । पत्रकारिताकै क्रममा उनले राष्ट्रिय समाचार समितिमा समेत काम गरिसकेका छन् ।
आदिवासी जनजातिहरूको पत्रकार जन्य सङ्गठन फोनिजमा २०६६ सालबाट आबद्ध भएका खम्बु २०७० सालमा सहसचिव र २०७४ सालबाट सचिवको जिम्मेवारी बहन गरिरहेका छन् । २०७० सालमा नेपाल पत्रकार महासङ्घको सदस्य बनेका खम्बु किरात राई पत्रकार सङ्घ झापाको अध्यक्ष समेत बनिसकेका छन् । हाल अर्जुनधारा प्रेस क्लबको कोषाध्यक्ष तथा अर्जुनधारा नगर सूचना तथा सञ्चार समितिको सदस्य समेत भएर काम गरिरहेका छन् भने नेपाल पत्रकार महासंघ झापाको कार्य समिति सदस्य भएर काम गरेको समेत उनमा अनुभव छ ।
पत्रकारिताकै क्रममा उनले वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०७१ र भीम बाबु– राधा कृष्ण पत्रकारिता पुरस्कार सन् २०१५ बाट पुरस्कृत भइसकेका छन् । यो सँगै उनले किरात राई यायोख्या अर्जुनधारा नगर कार्य समिति , बिर्तामोड नगर कार्य समिति, शान्ति सामुदायिक वन, स्वस्तिका शिशु सदन, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था, वर्देश्वर शिवालय मन्दिर, महारानीगञ्ज माध्यमिक विद्यालय लगायतका सङ्घ संस्थाबाट पत्रकार खम्बु पुरस्कृत तथा सम्मानित भएका छन् ।
पत्रकारिताको लामो अनुभव तथा विभिन्न पत्रकार जन्य सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका उनले समाज सुधारका लागि कलम चलाउँदै आएका छन् । स्थानीय स्तरमा सामाजिक एवम् धार्मिक कार्यको विकासका लागि कलम चलाउने उनी अर्जुनधारा ७ मा रहेको डाग्रे बाबा सेती देवी पाथीभरा माताको धामको संरक्षण सम्वद्धनमा समेत अहम् भूमिका निर्वाह गर्दै आएका छन् ।