२०८३ असार ३ गते , बुधबार

रेडक्रसकर्मी तथा सामाजिक अभियन्ता दीप लिम्बुको निधन, सगरमाथाका व्यवसायीद्वारा पसल बन्द

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २३ गते , विहीबार
रेडक्रसकर्मी तथा सामाजिक अभियन्ता दीप लिम्बुको निधन, सगरमाथाका व्यवसायीद्वारा पसल बन्द

झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सचिव, सामाजिक अभियन्ता दीप लिम्बूको निधन भएको छ । भद्रपुर नगरपालिका- ८ सगरमाथा चोकमा सिएससी कम्प्युटर इन्स्टिच्युटका सञ्चालक समेत ३६ वर्षीय दीपको निधनले सगरमाथा साना व्यवसायीहरू स्तब्ध भएका छन् । सगरमाथा चोकका व्यवसायीहरूले उनको शोकमा बिहीबार स्वतःस्फूर्त रुपमा दिउँसो १२ बजेसम्म पसल बन्द गर्ने निर्णय गरेको छ । दीप सगरमाथा साना व्यवसायी समितिका सचिव पनि थिए । सामाजिक अभियन्ता समेत रहेका युवा व्यवसायी दीप मिलनसार, शान्त, सरल स्वभावका थिए । 

कोरोना संक्रमित भएका दीपको उपचारको क्रममा बुधवार बिहान सवा १० बजे मेची अस्पतालमा निधन भएको थियो । मिर्गौला प्रत्यारोपण गरेर पनि रेडक्रस मार्फत सामाजिक क्रियाकलापमा सधैँ अग्रसर रहेका उनी पछिल्लो पटक लगभग एक महिना देखि कोभिड सङ्क्रमणबाट थला परेका थिए । मिर्गौला पीडित उनको हप्ता दिन यता मेची अस्पतालको एचडियूमा राखेर उपचार भइरहेको थियो  । रेडक्रसका सक्रिय स्वयंसेवक, हाल भद्रपुर उपशाखाका सचिव, प्राथमिक उपचार स्वयंसेवकको रुपमा राष्ट्रिय स्तरमा २०७१ मा उत्कृष्ट स्वयंसेवकको रुपमा रेडक्रसको केन्द्रीय कार्यालयबाट सम्मानित दीपको निधनले झापा रेडक्रसलाई ठुलो क्षति पुगेको छ। दीपको बुवा, आमा, पत्नी र दुई नाबालक छोरा छन्। उनको अन्त्येष्टि जातीय परम्परा अनुसार भद्रपुर २ स्थित ज्ञाने चोक छेउको देउनियाँ घाटमा 

गरिएको थियो । भद्रपुर नगरपालिकाका प्रमुख तथा भद्रपुर रेडक्रसका सल्लाहकार जीवनकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री चन्द्र चुँडाल र भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले उनको शरीरमा रेडक्रसको झन्डा ओढाएका थिए । 

सम्बन्धित समाचार