२०८३ असार ३ गते , बुधबार
निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा बस्नेत र महासचिवमा निरौला निर्वाचित
झापा । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा पुनः मिलन बस्नेत निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षका प्रत्याशीहरू मौसम थापा र गगन रेग्मीलाई भारी मतान्तरले पराजित गर्दै बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
बस्नेतको यो दोस्रो कार्यकाल हुनेछ । उनी मंगलश्री कन्स्ट्रक्सनका सञ्चालक हुन् । मत परिणाम अनुसार बस्नेतले १३७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी मौसम थापाले ६१ मत प्राप्त गरेका छन् । तेस्रो मत ल्याएका गगन रेग्मीले २८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यसै गरी, तृतीय उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईँ विजयी भएका छन् । उनले १४३ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामकुमार राईले ८२ मत प्राप्त गरे ।
यसै गरी, महासचिव पदमा पुष्पराज निरौला विजयी बनेका छन् । निरौलाले १४४ मत प्राप्त गर्दा प्रतिस्पर्धी ओम पौडेलले ७९ मत प्राप्त गरे । निरौलाले पौडेलसँग यसअघिको निर्वाचनमा भोगेको पराजयको बदला लिएका छन् । अघिल्लो निर्वाचनमा महासचिव पदमा
निरौला पौडेलसँग पराजित भएका थिए । पौडेल तेस्रो पटक महासचिव बन्ने योजनामा थिए । निरौला राज विल्डर्सका सञ्चालक हुन् भने पौडेल दर्पण निर्माण सेवाका सञ्चालक हुन् । सचिवमा योगेन्द्र खड्का ११८ मतसहित विजयी भएका छन् । उनले लोकेन्द्र श्रेष्ठलाई १६ मतले पछि पारे । श्रेष्ठको १०२ मत आएको छ । खड्का यसअघि पनि सचिव पदमै थिए ।
यसै गरी, कोषाध्यक्ष पदमा चन्द्र खत्री विजयी भएका छन् । यज्ञनिधि भुर्तेललाई १६ मतले पछि पार्दै खत्री विजयी बनेका हुन् । खत्रीले ११९ मत प्राप्त गर्दा भुर्तेलको पक्षमा १०३ मत झरेको थियो । तीन जनाले उम्मेदवारी दिएको सह कोषाध्यक्ष पदमा भने दुई जनाको बराबरी मत आएपछि गोला प्रथाबाट सिताराम ढुङ्गेल विजयी भएका छन् ।
ढुङ्गेल र अर्का प्रत्याशी हिमाल सिटौलाको बराबर ७८ मत आएपछि गोला प्रथामा जानुपरेको निर्वाचन अधिकृत गोपालबहादुर थापाले बताए । अर्का प्रत्याशी सुरेन्द्र धिमालले ६५ मत प्राप्त गरे । पदाधिकारीमा प्रथम उपाध्यक्षमा रमेश अधिकारी र द्वितीय उपाध्यक्षमा कुमार उप्रेती निर्विरोध भएका छन् भने महिला सदस्यमा मिनादेवी भट्टराई निर्विरोध भइन् ।
कार्यसमितिमा १० जना सदस्य आवश्यक रहेकोमा १९ जनाको उम्मेदवारी परेपछि भएको सदस्य पदको निर्वाचनमा जून तारा कन्स्ट्रक्सनका सञ्चालक राजकुमार राई सर्वाधिक मत ल्याएर विजयी भएका छन् । यसैगरी, नयन बराल रमेश सेढाई, एंगल गुरुङ, प्रकाशकुमार सिंह, अनिल भट्टराई , गोपालबहादुर बस्नेत, गुणबहादुर अधिकारी, सुरेश भट्टराई र चिरनसेन थापा विजयी भए ।
सदस्यका प्रत्याशीहरू ज्ञानबहादुर तामाङ, घनश्याम कार्की, गोपाल श्रेष्ठ, प्रवीण कटुवाल, रमेश भण्डारी, गोविन्दप्रसाद घिमिरे, बुद्धिमान लिम्बू, मनोजकुमार अधिकारी र गोविन्द कार्की पराजित भए । २७३ मतदाता रहेको सङ्घको निर्वाचनमा २२७ मत खसेको निर्वाचन अधिकृत थापाले बताए ।