२०८३ असार ३ गते , बुधबार
निर्माण व्यवसायीको अधिवेशनमा बन्द सत्र नगरेको भन्दै व्यवसायीको आक्रोश
झापा । निर्माण व्यवसायी संघ झापाको अधिवेशनमा बन्द सत्र नगरेको भन्दै व्यवसायी रुष्ट बनेका छन् । बन्द सत्र नै नगरी निर्वाचन कार्य तालिका सार्वजनिक गरेको भन्दै व्यवसायीहरूले वर्तमान नेतृत्व विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
अधिवेशनमा बन्द सत्र भित्र छलफल र सहमतिको प्रयास गर्नुको सट्टा वर्तमान नेतृत्व सिधै निर्वाचनमा जानुले आशङ्का उब्जिएको बताएका छन् । अधिकांश व्यवसायीले आर्थिक अनियमितता भएको आशङ्का गरेपछि पूर्वाञ्चलकर्मीले महासचिव ओम पौडेलसँग सम्पर्क गर्दा उनले मङ्गलवार उद्घाटन सत्रको कार्यक्रम मात्र भएकाले बन्द सत्र भोलि बुधवारबाट सुरु गर्ने जानकारी दिए ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । मङ्गलवार उद्घाटन सत्र मात्र सम्पन्न भएको र बुधवार बिहान बन्द सत्र हुने महासचिव पौडेलले बताए । बन्द सत्र नै नगरी उम्मेदवारी मनोनयन भएको तथा सङ्घले आर्थिक प्रतिवेदन समेत प्रस्तुत नगरेकाले शङ्का उब्जिएको निर्माण व्यवसायीहरूले गुनासो गरेका छन् ।
अधिकांश निर्माण व्यवसायीले बन्द सत्र नै नगरी अधिवेशन अगाडी बढाउन खोजेको भन्दै गुनासो गरेपछि महासचिव पौडेलसँग बुझ्दा उनले बुधवार बिहानबाट नियमित प्रक्रिया अनुसार नै बन्द सत्र सुरु हुने र अधिवेशन अघि बढ्ने जानकारी दिए ।
मङ्गलवारबाट सुरु भएको निर्माण व्यवसायी संघ झापाको १४औं साधारण सभा तथा अधिवेशन अध्यक्ष मिलन बस्नेतको अध्यक्षता तथा महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सङ्घका प्रथम उपाध्यक्ष शरद खनालले स्वागत गरेका थिए । निर्माण व्यवसायी संघ झापामा हाल दुई सय ७६ निर्माण व्यवसायी आबद्ध रहेको बताइएको छ ।