जेसीज सप्ताह कार्यक्रम : भद्रपुरमा 'जेसीज भिलेज' गाउँ
भद्रपुर । सामाजिक संस्था जेसीजको नामबाट भद्रपुरमा एउटा गाउँको नामकरण गरिएको छ । भद्रपुर जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत पाँचौँ दिन भद्रपुर- १० स्थित ढेना बस्तीलाई 'जेसीज भिलेज' गाउँ नामकरण गरिएको हो । सो बस्तीमा हाल २७ घरका २०७ बसोबास गर्दै आएका छन् ।
भद्रपुर जेसीजले सो बस्तीलाई जेसीज भिलेजको रुपमा अपनत्व ग्रहण गर्दै त्यहाँका स्थानीयका जीवनस्तर उकास्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने जेसीजका अध्यक्ष खिलनाथ पाण्डे (निकास)ले जानकारी दिए ।
उनका अनुसार जेसीज भिलेजका बालबालिकाहरूलाई नियमित विद्यालय जाने वातावरणको निर्माण गर्ने र त्यहाँका महिलाहरूलाई लगु उद्यम व्यवसायहरूमा सहभागी गराई आत्म निर्भर बनाई आर्थिक क्षेत्रलाई उत्थान गर्ने जस्ता कार्यमा लाग्ने बताए । भिलेज (गाउँ) नामकरण गरेकै दिन भद्रपुर जेसीजले ३६ जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री, विद्यालय पोसाक वितरण गरेको छ ।
आगामी दिनहरूमा बाकी कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गरिने उनले बताए । जेसीज अध्यक्ष पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेसीज भिलेज गाउँको बोर्ड अनावरण गर्यो ।
कार्यक्रममा नगरपालिकी उपमेयर चन्द्रामाया श्रेष्ठ, १० नम्बर वडा अध्यक्ष काजी खड्का, माओवादी केन्द्रका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, रेडक्रस सोसाइटी उपशाखा भद्रपुरका सभापति गोपाल गिरी, चन्द्रगढी सामुदायिक वनका दुर्गा प्रसाद भट्टराई, भद्रपुर जेसीजका पूर्व अध्यक्ष लोकनाथ भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । जेसीज आस्था वाचन कोषाध्यक्ष युवराज न्यौपाने र स्वागत मन्तव्य कार्यक्रम संयोजक एकराज भट्टराईले राखेका थिए ।
मूल संयोजक कार्यकारी उपाध्यक्ष रमेश कार्कीले धन्यवाद मन्तव्य राखेको कार्यक्रमको सञ्चालन जेसीजका महासचिव मनोज भट्टराईले गरेका थिए । कार्यक्रममा भद्रपुर जेसीज बोर्डका पदाधिकारीहरू, ढेना बस्तीका बालबालिका तथा अभिभावकहरू गरी १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।