भद्रपुर बजारमा सुनको सिक्री लुट्ने गिरोह सक्रिय, लुटियो महिलाको एक तोला सिक्री
(पार्थ मण्डल) झापा । भद्रपुर बजारमा सुनको सिक्री लुट्ने गिरोह सक्रिय रहेको पाइएको छ। बुधबार बेलुका भद्रपुर बजारमा एक महिलाको घाँटीबाटै सुनको सिक्री लुटिएको घटनाले स्थानीयमा त्रास फैलाएको छ। बुधबार र शनिबार भद्रपुरमा हाटबजार लाग्छ। भद्रपुर नगरपालिकाकी-४ डाँगीवारि बस्ने अन्दाजी ३३ वर्षीया सुनिता राजवंशी एक्लै हाटबजार गर्न गएकी थिइन्। बजार पुगेर उनले आलु किनिन्।
आलु किन्ने क्रममै उनले घाँटीमा लगाएको सुन सिक्री लुटियो। सिक्री नदेखेपछि उनले बजारमै सिक्री लुटियो भनी होहल्ला गरिन्।त्यो ठाउँमा एकाएक स्थानीयको भिड बढ्यो। आलु किन्ने वेला तीनजना अपरिचित युवक उनको पछाडि उभिएको उनले देखेकी थिइन्। त्यतिखेर उनले वास्ता गरिनन्। ‘आलु किन्ने वेला त्यही युवा ममाथि लड्यो’, उनले भनिन्, ‘त्यसपछि म त्यहाँबाट उठेँ, युवाहरू गइसकेका थिए। घाँटीमा सिक्री हेर्दा छैन।’
घटनालगतै ती युवाको खोजी सुरु भयो। उनीहरूमध्ये दुई युवा भानुचोक जाने सडकमा हिँडदै गरेका फेला परे। उनीहरूलाई पछ्याउँदै पीडित महिलासहित केही गाउँवासी आइपुगे। लगत्तै वडा प्रहरी कार्यालय भद्रपुरको टोली पनि त्यहाँ आइपुग्यो। रक्सीले मातेका ती युवकद्वयले हामी एक अर्कोलाई चिन्दैनौँ भन्दै उम्किन खोजे तर प्रहरीले दुवैलाई पक्राउ गरी वडा प्रहरी कार्यालय लगियो। पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका- ३२ जितपुर बस्ने ३२ वर्षीय रङ्गलाल राय र सोही महानगरपालिका-१९ बस्ने ३२ वर्षीय शम्भु राय यादव छन्।
उनीहरूले सिक्री लुटेको प्रहरीसमक्ष स्वीकार नगरेको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए। ‘उनीहरूले सिक्री निल्यो कि भनेर मेची अस्पतालमा लगेर एक्सरे पनि गराइयो’, इन्स्पेक्टर राई भने, ‘एक्सरेमा केही देखिएन र अर्को साथीको नाम पनि उनीहरूले खुलाएनन्।’ पीडित महिलाले एक तोला डेढ आना सुनको सिक्री लुटिएको भन्दै प्रहरीमा उजुरीले दिएकाले दुवैजनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाएको उनले बताए। केही दिनअघि भद्रपुरका दीपक अग्रवालकी बुहारीको पनि बजारबाटै सुनको सिक्री हराएको थियो। सिक्री अझै फेला नपरेको अग्रवालले बताए।